बन्दना राणा UNFPA अन्तर्गत उच्च स्तरीय आयोगको सदस्यमा मनोनित

दूरबिन नेपाल     ४ आश्विन २०७७, आईतवार ०१:४९    

Anil Baral Real Estate

नेपाली महिला अधिकारकर्मी एवं राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छिन । राष्ट्र संघीय महिला बिरुद्धको बिभेद निरुपण समितिका उपाध्यक्ष समेत रहेकी राणा महिला अधिकारको लागि गठित अन्तर्राष्ट्रिय उच्च स्तरीय आयोगकी सदस्यमा मनोनित भएकी हुन । जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेण्डा पूरा गर्नको लागि सो आयोग गठन भएको थियो ।
सो उच्चस्तरीय आयोगमा २८ सदस्य छन् भने अध्यक्षता तान्जानियाका पूर्व राष्ट्रपति जाकाया किक्वेते र क्यानडाकी २७ औं गभर्नर जनरल मिशेल जीनले गर्नेछन् । सो आयोगमा देशका पूर्व प्रमुखदेखि अभियन्ता र युवासमेत सदस्य रहेका छन । आयोगले नैरोबी सम्मेलनमा गरिएका एक हजार दुई सय ५० प्रतिबद्धता पुरा भए–नभएको अनुगमन गर्नेछ । कोरोनाभाइरस महामारीको समयमा महिलाहरु परिवार नियोजन, गर्भवती स्याहार जस्ता आधारभूत सेवाबाट समेत बञ्चित हुनु परेको अवस्थामा सम्मेलनले दिशानिर्देश गरेका कामहरु निरन्तर रुपमा अगाडि बढुन् भन्ने उद्देश्यले अधिकारकर्मीहरु, विशेषज्ञहरुको उच्च स्तरीय आयोग गठन भएको हो ।
यो अभियान संचालनका लागि नैरोबी सम्मेलनले सरकार, निजी क्षेत्र, संघ संस्था र अन्य क्षेत्रबाट प्रतिबद्धताको रुपमा अर्बौं डलर रकम सुरक्षित गरिसकेको छ । सम्मेलनले १० वर्षभित्र तीन शून्य अर्थात, परिवार नियोजनका साधनसम्म पहुँच नभएका महिलाको संख्या शून्य, रोक्न सकिने मातृ मृत्युदर शून्य र लैगिक आधारमा हुने हिंसालाई शून्य बनाउने लक्ष्य राखेको छ । अहिले गठन गरिएको उच्च स्तरीय आयोगले यिनै लक्ष्य प्राप्तिको लागि काम गर्नेछ ।


४ आश्विन २०७७, आईतवार ०१:४९ मा प्रकाशित