भिषा भयो……..!

दूरबिन नेपाल     १६ आश्विन २०७७, शुक्रबार १७:३८    

Anil Baral Real Estate

 

खगप्रसाद नेपाल

कागताली पनि गजबैले पर्छ कहिलेकाहीं । छोरी धृति जन्मिदा म लोकसेवा आयोगमा शाखा अधिकृतको परीक्षा दिँदै थिएँ । ढिला गरि सरकारी सेवामा प्रवेश गरिएकाले अवकाश चाहिँ छिटै भइयो । मैले सरकारी सेवाबाट अनिवार्य अवकाश पाउनु र छोरीले पिएचडी उपाधि हासिल गर्नु पनि सँगसँगै जस्तै भएछ ।

छोरी ज्वाईं दुबै जनाले दक्षिण कोरियाबाट एम इ र पिएचडी सिध्याएर पोस्ट डक गर्न अमेरिका गएका हुन् । त्यसो त ज्वाईंले ६ महिना अगाडि नै सिध्याएर अमेरिकाको अबर्न युनिभर्सिटीमा पोस्ट डकका लागि अनुरोध गर्दा स्वीकार भएकाले दुबै जना सँगै गएका हुन् । छोरीलाई भने उहीँ पुगेपछि त्यही युनिभर्सिटीमा लिइदिएकाले उनले पनि त्यहीँ काम गर्न शुरु गरेकी हुन् । अमेरिका जस्तो ठाउँमा जहाँ गएपनि हाल सम्म दुबै जना एउटै अड्डामा काम पाउने उनीहरु भाग्यमानी नै हुन् भन्नुपर्छ । उनीहरू दुबै जनाले काम गर्न थालेपछि फोनमा कुरा हुँदा हामीलाई पनि उनीहरु अमेरिका भ्रमण गर्न बोलाउने गर्थे । जागिरको दौरानमा त्यो मुलुक जाने कहिल्यै अवसर नमिलेको र भित्र कताकता मौका मिले जाने चाहाना भएकै हो ।

सरकारी नोकरीमा हुँदा अफिसियल पासपोर्टमा विदेशयात्रा गरिन्थ्यो । अवकाश भएपछि त्यो पासपोर्टमा विदेश जाने कुरा भएन । त्यसैले मैले मेरो अन्तिम जागिर खाएको जिल्ला बैतडीबाटै साधारण पासपोर्ट बनाएको थिएँ । पारुको भने म ललितपुरमा हुँदा नै कोरिया जाने प्रयोजनका लागि पासपोर्ट बनाइएको थियो । त्यसबेला मेरो त अफिसियल पासपोर्ट छँदैथियो ।
हामी दुबै जनाको भ्यालिड पासपोर्ट छँदैथियो । छोरीज्वाईंको औपचारिक निमन्त्रणा आउने पनि पक्कै जस्तो थियो । त्यसैले अमेरिकी भिषाको लागि आवश्यक कागजात जम्मा गर्न लागियो । त्यस प्रयोजनका लागि छोरीसँगको नाताको प्रमाणपत्र चाहिने रहेछ । पासपोर्ट बनाए जसरी नै पदमा हुँदै नाताको प्रमाणपत्र बनाउनुपर्ने रहेछ । त्यसबेला होश पुगेन । यो प्रमाणपत्र बनाउन निकै आँटा बेल्नुपर्यो । काठमाडौ महानगरपालिकाले मेरो जन्म स्थल इलामको नामसालिङबाट बसाइँ सराइको प्रमाणपत्र नल्याइ यहाँबाट नाताको प्रमाणपत्र दिन मिल्दैन भन्यो । मैले “मेरो इलाममा घरजग्गा छँदैछ । म उहाँ बेचबिखन गरेर बसाइँ सरेर आएकै होइन । मेरो बत्तिस बर्षदेखि यहाँ बसोबास छ, घर छ । मतदाता नामावलीमा नाम छ । नेपालको संबिधान बमोजिम मुलुकको जहिँ पनि सम्पत्ति आर्जन गर्न सकिन्छ । त्यसो गर्दा नयाँ ठाउँमा बसाइँ नै सर्नुपर्छ भन्ने त छैन” भनें । बिना नियम र बिना तर्क हुँदैन भनेपछि के लाग्यो र ? केही नलागेपछि पारु त्रिभुवन विश्व विद्यालयको केन्द्रीय पुस्तकालयमा कार्यरत भएकाले त्यहाँबाट सिफारिस ल्याएर बनाउनुपर्यो भनेर तत्कालीन प्रमुख कृष्णमणि भन्डारी सरसँग सिफारिश गरिदिन कुरा राखें । उहाँले मैले सिफारिस गर्दा हुन्छ भने म गरिहाल्छु नि भनेर बडा हार्दिकता देखाउनु भयो । उहाँले कर्मचारीको नाताले गरिदिनुभएको सिफारिसका आधारमा नै बल्लतल्ल नाताको प्रमाणपत्र बनाइयो । भिषाको प्रयोजनका लागि भनेर अन्य तोकिएका कागजात पनि तयार गरियो । त्यही बिचमा छोरीले अमेरिकन राजदुतावासका काउन्सिलरलाई मेरा पितामातालाई अमेरिकाको पर्यटक भिषा उपलब्ध गराइदिनु भनेर अनुरोध गरेको पत्र प्राप्त भयो । त्यसका साथ अबर्न युनिभर्सिटीको सिफारिस, उनीहरुको आम्दानी तथा ट्याक्सको विवरण लगायत कागजात थियो । छोरीले गरेको अनुरोधमा हाम्रो सम्पुर्ण खर्च उनले व्यहोर्ने र हामी ६ महिनामा नेपाल फिर्ता आउने कुरा पनि लेखिएको थियो । त्यो पत्र पाउनासाथ आफू भने अमेरिका पुगेको कल्पना गर्न पुगेछु । अमेरिका संघाई वा टोकियो वा सोल जस्तो होला । अथवा जम्मै अमेरिका अमेरिकाकै वाशिङ्टन, न्युयोर्क, सिकागो, सन फ्रान्सिस्को अथवा लस एन्जलस जस्तो होला । अमेरिकाको रुपको कल्पना यसरी गर्दोरहेंछु म ।
अमेरिकाको नक्सा हेर्दै अमेरिका जाँदा शुरुमा अटलान्टामा उत्रेपछि रेलमा अबर्न गइएला । दुईरचार दिन अबर्न बसेपछि रेलबाटै मियामीसम्म, अनि टेक्सास हुँदै लस एन्जलस, सन फ्रान्सिस्को, सियाटलसम्म, अनि फेरि सिकागो, डेट्रोइट, बोस्टन, न्युयोर्क, वाशिङ्टन हुँदै पुनः अटलान्टा आएर अबर्न फिरिएला । र त्यस क्रममा सियर्स् टावर चढिएला, स्वतन्त्रताको मुर्ति र ह्वाइट हाउसको अगाडि उभिएर फोटो खिचिएला, जोन एफ केनेडी अन्तरीक्ष केन्द्र अवलोकन गरिएला, नेभादाको हुभर ड्याम र नायग्रा फल्स् अघाइन्जेल हेरिएला आदि रुमानी कल्पनामा हराउँदै भिषाको निवेदन दिइएको थियो ।

अमेरिकन भिषा पाउनै गाह्रो भनेर भुक्तभोगीहरुले भनेको सुनिएको हो । अन्य मुलुकको भिषा लिन कत्तिको सजिलो वा कठिन हुन्छ भनेर कहिल्यै जानिएन । सरकारी कामको सिलसिलामा अफिसियल पासपोर्टमा विदेश जानुपर्दा अफिसियल भिषा सम्बन्धित राजदुतावासमा सम्बन्धित मन्त्रालयको अनुरोध अनुसार परराष्ट्र मन्त्रालयको सिफारिस भएपछि प्राप्त भइहाल्थ्यो । जागिरबाट अवकाश भएपछि विदेश घुम्न गएको भन्या भारत इन्डोनेसियाको बाली र चीन मात्र हो । भारत र बाली जान भिषा नै चाहिएन । चीनको भिषा पाउन पहिले त कठिन नै थियो क्यारे । तर पर्यटकीय हिसाबले चीन खुलेपछि त्यति अप्ठ्यारो थिएन होला । फेरि हामी त ट्राभल एजेन्सी मार्फत नै चीन भ्रमण गर्न गएकाले भिषा लिने काम पनि ट्राभल एजेन्सीले नै गरेकाले आफुलाई केही थाहा भएन ।
अमेरिकाको भिषा लिन भने आवश्यक सम्पुर्ण कागजात जुटाएर फायल तयार गरिएको थियो । आफू पहिले अध्यागमनमा काम गरिसकेकाले आफुले संलग्न गरेका कागजातका आधारमा भिषा नदिनुपर्ने कुनै कारण देखिएको थिएन । तर भिषाको लागि अन्तरवार्ता दिने प्रयोजनका लागि बोलाइएको निर्धारित मितिमा जाँदा भने सायद भिषा हुँदैन कि भन्ने शङ्का उब्जन थाल्यो । त्यहाँ भिषाका लागि अन्तरवार्ता दिने लगभग पचास र साठी जना उपस्थित रहेछन् । गएर आफ्नो फाइल भित्र बुझाइयो । बोलाएपछि भित्र आउने भनिएकाले लबिमै पर्खेर बसियो । त्यहाँ पहिले पहिले पनि अन्तरवार्ता दिइसकेका व्यक्तिहरु पनि रहेछन् ।
“यहाँ केही काम नगर्नेलाई त उहाँ काम गरेर बस्छ, फर्केर आउँदैन भनेर भिषा दिँदो रहेनछ” एउटाले भन्यो । यस वाक्यले मलाई माथि आकाशबाट सिधै तल पातालमा खसाइदियो । म लबिमा पर्खिँदा पनि अमेरिकाकै यात्रा गर्दै थिएँ । म पनि जागिरबाट अवकाश पाएपछि बेकामे भएरै बसेको थिएँ । काउन्सिलरले के काम गर्दैछस् भनेर सोधे भने केही काम छैन त भन्नैपर्यो । केही एउटा काम भन्दिउँ भने फाइलमा तत्सम्बन्धी कागज नहुँदा झन् ढाँटेको ठहर्ला । मेरो भने अब भिषा नहुने भयो भन्ने लाग्यो । पारु त काममै भएको र केन्द्रीय पुस्तकालयका प्रमुख कृष्णमणि भन्डारीले पनि ६ महिना बिदा लिएर जाने र नीज फर्केर आउने भन्ने लेखिदिएको सिफारिस संलग्न भएकाले उनले भने भिषा पाउने भइन् । उनले भिषा पाउने मैले नपाउने हुँदा साह्रै नरमाइलो हुने भयो । यस्तै सोच्दै थिएँ । त्यहीँ बस्नेमध्ये अर्को एउटाले भन्यो, “ नेपालीमा जवाफ दिनेलाई त भिषा दिँदैन । अंग्रेजी नजान्ने मान्छे उहाँ गएर अप्ठ्यारोमा पर्छ भनेर नदिँदोरहेछ” । अर्कोले भन्यो, “भाग्य पनि हो, कुन विन्डोमा परिन्छ । त्यो महिला काउन्सिलरकोमा परियो भने, त्यसले ज्यान गए पनि दिन्न । अरुकोमा पर्यो भने जे पनि हुन सक्छ”।

म अब त्यो महिलाको विन्डोमा नपरौं भनेर भगवान पुकार्दै थिएँ, हामी क्युमा अगाडि परेका १०–१२ जनालाई सेक्युरिटी जाँच हुँदै भित्रको हलमा जान भनियो । भित्र हामी भन्दा अगाडिका मानिस पनि बाँकी नै रहेछन् । हामीभन्दा अगाडिका त्यहाँ अन्तरवार्ता दिने कसैले पनि भिषा पाएको देखिएन । भिषा पाउनेको पासपोर्ट भित्रै राख्दोरहेछ । भिषा नपाउनेलाई पासपोर्ट फिर्ता दिँदो रहेछ । हामी अगाडिका सबै पासपोर्ट हातमा लिँदै फर्केकाले भिषा पाएनन् भनेर जानिएको हो ।

हाम्रो पालो आयो । अब कुन विन्डोमा बोलाउला ? हे भगवान ! हामीलाई त्यो महिलाकोमा चाहिँ नपारीदेउ भन्दै भगवानलाई पुकारा गर्दैथिएँ, तिनै महिलाको विन्डोमा बोलाइयो हामीलाई । बोलाउनासाथ भिषा भएन भन्ने टुङ्गोमा मन पुगेपनि अन्तरवार्ता दिन त जानै पर्यो । हामी दुवै जनाको कागजातको फाइल एउटै भएकाले दुबै जना सँगै गयौं । महिला काउन्सिलरले सबभन्दा पहिले मुसुक्क हाँसेर हामीलाई स्वागत गरिन् । अनि उनले मतिर फर्केर “नेपालीमा सोधौं कि अंग्रेजीमा सोधौं“ भनिन् । मैले पनि नमस्कार गर्दै, “जुन भाषामा पनि सोध्न स्वतन्त्र हुनुहुन्छ । तर नेपालीमा सोध्नुभयो भने तपाईंको प्रश्नको उत्तर निश्चित रुपमा पाउनुहुन्छ । अंग्रेजीमा सोध्नुभयो भने प्रश्नको जवाफ भन्दा पनि मैले जानेको कुरा थाहा पाउनुहुन्छ” भनें । मेरो कुरा सुनेर उनी मस्तले हाँसिन् । अनि पारुतिर फर्केर, “अमेरिका कतिन्जेल बस्ने इच्छा गर्नु भएको छ” भनेर सोधिन् । उनले मलाई अफिसले ६ महिनाको मात्र बिदा दिने हुँदा ६ महिनाभित्र फिर्नैपर्छ” भनिन् । त्यसपछि उनले हाम्रो भिषाको निवेदन फारम र हामीले पेश गरेका सम्पुर्ण कागजात राम्ररी हेरिन् । अनि हामीले पेश गरेको कागजातको फाइल फिर्ता दिँदै भनिन्, “बधाई छ, तपाईंहरुलाई । तपाईंहरुको भिषा भयो । तीन दिन पछि आएर पासपोर्ट लैजानु होला”। हामीले पनि उनलाई भिषा उपलब्ध गराइदिएकोमा हार्दिक धन्यवाद दिँदै नमस्कारको न्यानो अभिवादन गरेर बिदा भयौं ।

तीन दिन पछि नबिल बैकमा पासपोर्ट लिन गयौं । २१ मे २००७ मा इस्यु भएको पाँच बर्ष अवधिको मल्टिइन्ट्री अमेरिकी भिषा भएको पासपोर्ट लिँदा अब भने अमेरिका पक्कै पुगिन्छ भन्ने लागेकै हो ।

 


१६ आश्विन २०७७, शुक्रबार १७:३८ मा प्रकाशित