‘नीति र संगठनबीच समन्वय गर्न नसक्दा काँग्रेस कमजोर’-बलबहादुर केसी

दूरबिन नेपाल     १५ पुष २०७४, शनिबार १४:०१    

Anil Baral Real Estate

भक्तपुर, १५ पुस / नेपाली काँगे्रसका नेता एवं पूर्वमन्त्री बलबहादुर केसीले पार्टीको सुधार नेतृत्व तहबाटै शुरु गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति संघ जिल्ला कार्य समिति भक्तपुरले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय मेलमिलाप दिवस’ विषयको विचार गोष्ठीमा उहाँले पार्टी नेतृत्वले नीति र संगठनबीच समन्वय गर्न नसक्दा पार्टी कमजोर भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काँग्रेसलाई बलियो बनाउने हो भने अब पार्टीको मुहान सफा गर्नुपर्छ । मुहानै फोहोर भएपछि चुहान कहाँबाट सफा हुन्छ र त्यसका लागि काँग्रेसका नेता कार्यकर्ता तयार हुनुपर्छ र यसलाई देशैभर अभियानकै रुपमा लैजानुपर्छ । नत्र पार्टीको भविष्य छैन ।”
पार्टी नेतृत्वले विधानबमोजिम काम नगरेको दुखेसो पनि उहाँले पोख्नुभयो ।
काँग्रेसले वाम गठबन्धन तोड्ने र सत्तामा जाने मुर्खता गर्न नहुने बताउँदै नेता केसीले जनादेशबमोजिम नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा कानुन राज्यमन्त्री दिलमान पाख्रिनले देश नयाँ संरचनामा गए पनि पार्टी पुरानै संरचनामा चल्दा समस्या आएको र अब पार्टीलाई ‘क्याडर बेस’मा लैजानुपर्ने सुझाव दिनुभयो ।
उहाँले काँग्रेसले बिपीको विचार बोक्न नसक्दा पार्टी र सिगो देश अहिलेको अवस्थामा पुगेको बताउनुभयो ।रासस


१५ पुष २०७४, शनिबार १४:०१ मा प्रकाशित