ठमेल अंग्रेजी नयाँ वर्ष स्वागतको पर्खाइमा

सिवी अधिकारी     १५ पुष २०७४, शनिबार १४:३७    

Anil Baral Real Estate

पुस १६ (डिसेम्बर ३१) आइतबार हुने न्यू इयर इभ कार्यक्रम र अफरका तुल, ब्यानर र सजावटले ठमेल क्षेत्रका होटल, रेष्टुराँ, क्लब, गजल तथा दोहोरी साँझ रेष्टुराँ रङ्गिएका छन् । व्यवसायी आफ्नो सेवा प्रवद्र्धनका लागि विभिन्न नयाँ कार्यक्रमका साथ प्रतिस्पर्धात्मक तवरले लागिपरेका छन् ।
न्यू इयर इभको सन्दर्भमा ठमेलको ठमेल इको रिसोर्टमा न्यू इयर इभ विशेष कार्यक्रम आयोजना हुँदैछ । ठमेल इको रिसोर्ट र इभेन्ट संसार डटकमले संयुक्तरुपमा आयोजना गर्ने उक्त कार्यक्रममा सहभागी हुनेले लाइभ म्यूजिकको साथ नेपाली परम्परागत खानाको स्वादमा भरपुर आनन्द लिनेछन् ।
इको रिसोर्टका सञ्चालकसमेत रहनुभएका वरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडाका अनुसार म्यूजिकका साथ रिसोर्टको गार्डेनमा बार्बिक्युको मजा लिन सक्नेछन् । रायन विथ यात्रीको लाइभ म्यूजिक रहने उक्त कार्यक्रममा चर्चित हास्य शृङ्खला ब्रेकफेलका कलाकार तथा अन्य ख्यातिप्राप्त कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहनेछ ।
विदेशी तथा स्वदेशी पर्यटकको मनोरञ्जन तथा नेपाली खानाका परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यवसायी सिंखडाको भनाइ छ । सहभागिताका लागि रु एक हजारको टिकट काट्नुपर्नेछ, त्यसमा एक बोतल बियर निःशुल्क हुने आयोजकले जनाएका छन् ।
रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूले नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, झम्सिखेललगायत अन्य होटल तथा रेष्टुराँले विभिन्न कार्यक्रम बनाएको बताउनुहुन्छ ।
उहाँका अनुसार कतिपय क्लब तथा रेष्टुराँले विदेशी कलाकारको ब्याण्ड तथा नेपाली चर्चित कलाकारको साथमा नयाँ वर्षको स्वागतमा कार्यक्रम गर्ने योजना बनाएका छन् ।
‘क्लब भेनिस’ सुन्धाराका सञ्चालकसमेत रहेका व्यवसायी लिम्बूले नयाँ वर्षमा पाहुनालाई लक्षित गरी क्लबमा आइतबार साँझ ‘ग्लामर्स आइकन’ को विशेष फेसन शो आयोजना गरिने र त्यहाँ ३० जना चर्चित मोडलले प्रस्तुति दिनेछन् भने डिजे सशनको बेग्लै रौनक रहनेछ ।
यता ठमेलकै सुविधायुक्त ‘टर्टल लाउन्ज एण्ड क्लब’ ले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रमको तयारी गरेको छ ।
क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुति रहनाका साथै क्लबमा विभिन्न खानाका परिकारमा १५ देखि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सर्वसाधारणलाई रु एक हजारदेखि एक हजार ५०० प्रवेश शुल्कको व्यवस्था गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले नयाँ वर्षको सन्दर्भमा त्रिदेवी मार्ग, ठमेलमा आइतबार साँझ सडक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ । चर्चित डिजे ‘शिशिर’ र ‘सिजल’ को विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा हजारौँको संख्यामा सर्वसाधारण तथा विदेशी पर्यटक सहभागी हुने भएकाले आवश्यक सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएको छ ।
अध्यक्ष गुरुङले नयाँ वर्षको अवसरमा ठमेल क्षेत्रका व्यवसायीले आफ्ना सेवामा विशेष अफरसहितका कार्यक्रम ल्याएका छन् । ठमेलमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्नका लागि व्यवसायीले विभिन्न प्याकेज बनाएका हुन् । रासस


१५ पुष २०७४, शनिबार १४:३७ मा प्रकाशित