नेपाली साहित्यको विकासमा पौड्यालको योगदान महत्वपूर्ण – राष्ट्रकवि लेखनाथ प्रतिभा पुरस्कार सुवेदीलाई

दूरबिन नेपाल     १५ पुष २०७४, शनिबार १४:५४    

Anil Baral Real Estate

काठमाडौँ, १५ पुस / राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा साहित्यको विकासमा कवि शिरोमणी लेखनाथ पौड्यालको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाली शिक्षा परिषद्ले कवि शिरोमणी लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘लेखनाथ प्रतिभा पुरस्कार प्रदान समारोह’मा उहाँले कवि पौड्यालका बारेमा जति व्याख्या गरेपनि कमै हुने बताउनुभयो । “तत्कालीन संस्कृतिका बारेमा आमजनतालाई साहित्यमार्फत चिनाउने व्यक्ति पौड्याल हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
पशुपति बहुमुखी क्याम्पसका प्रमुख प्रयागराज वशिष्ठले नेपाली कविता क्षेत्रमा कवि शिरोमणी पौड्यालको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
पौड्यालको १९४१ पुस १५ गते कास्कीको अर्घौं अर्चलेमा जन्म भएर २०२२ सालमा निधन भएको थियो ।
लेखनाथ प्रतिभा पुरस्कार सुवेदीलाई
सो अवसरमा नेपाली शिक्षा परिषद्ले हरेक वर्ष प्रदान गर्ने लेखनाथ प्रतिभा पुरस्कार लक्ष्मी सुवेदीलाई प्रदान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा उच्च अंक ल्याएर स्नातकोत्तरमा प्रथम स्थान हासिल गरेको भन्दै सुवेदीलाई रु १५ हजार एक नगदसहित सम्मान गरिएको हो ।
उहाँले २०७१ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको पशुपति बहुमुखी क्याम्पसबाट ६८ प्रतिशत ल्याएर प्रथम हुनुभएको थियो । रासस


१५ पुष २०७४, शनिबार १४:५४ मा प्रकाशित