इपिएल दोस्रो संस्करणको उपाधि विराटनगरलाई

दुरबिन नेपाल सम्बाददाता     १५ पुष २०७४, शनिबार २२:४३    

Anil Baral Real Estate

काठमाडौँ, १५ पुस

यही पुस ३ गतेदेखि शुरु भएको सबैभन्दा धेरै पुरस्कार राशिको घरेलु क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’ (इपिएल)को दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले हात पारेको छ ।

प्रतियोगितामा सहभागी काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रियोट्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सलाई पछि पार्दै विराटनगर वारियर्सले उपाधि चुमेको हो । जितसँगै विराटनगरले रु २१ लाख प्राप्त गरेको छ ।

शनिबार दर्शकले खचाखच भरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा राष्ट्रिय टोलीका मुख्य खेलाडी शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले विराटनगरले उपाधि जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन बनाएको थियो । एकसय ५० रनको विजय लक्ष्यका साथ भेषवाकरको कप्तानीमा मैदान उत्रिएको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।

क्रिकेट खेलको ‘एकै ओभरले हार जित दिलाउँछ’ भन्ने उक्ति आज त्रिवि खेल मैदानमा प्रमाणित भएको छ । ८ औँ ओभरसम्म आफ्नो नियन्त्रण राखेर खेलको अन्तिम २ ओभरमा टिक्न नसक्दा भैरहवा जितबाट विमुख भयो । अन्तिम २ ओभरमा मात्र भैरहवाले ५ विकेट गुमाएको थियो ।

एकसय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले शुरुवातमा निकै राम्रो गरेको थियो । आठौँ ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर १५औँ ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । तर, कप्तान पारस खड्काले १९औँ ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो ।

अन्तिम ओभरमा अनिल साहको पहिलो बलमै कृष्ण कार्कीले चौका हान्दै जितको आशा कायम राखे पनि दोस्रो बलमा उनी आउट भए । निकै रोमाञ्चक बनेको अन्तिम ओभरको तेस्रो बलमा रन नै दिएनन् । चौथो बलमा भुवन कार्की रन आउट भए भने ५ औँ बलमा पुनित मिश्रको विकेट गुम्यो ।

अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रन चाहियो तर ३ रन मात्र जोड्न सक्यो र १ रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो । यसअघि विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले ९ रन बनाएका थिए ।

शुरुवातमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो । भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले २/२ तथा शरद भेषवाकर र आरिफ शेखले १/१ विकेट लिए ।

यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो ।

अघिल्लो वर्ष भएको उक्त प्रतियोगिताको पहिलो संस्करण भने भेषवाकरकै कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो । विजेता टोलीले गत वर्ष रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो । पुरस्कारको राशि यस वर्षदेखि बढाएर रु २१ लाख पुर्याइएको हो । यो राशि नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले गत जेठमा आयोजना गरेको प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो ।

विजेता विराटनगरबाट राष्ट्रिय टोलीको कप्तानसमेत रहेका खड्काको कप्तानीमा आकाश विष्ट, रामनरेश गिरी, अविनाश कर्ण, करण केसी, प्रनित थापा मगर, सुमित महर्जन, वसन्त रेग्मी, अनिल साह, आशिफ शेख, पुष्प थापा, बाबर हायत र अंशुमन रथ सहभागी थिए ।

फाइनल खेल हेर्न शनिबार बिहानैदेखि कीर्तिपुर मैदान दर्शकहरूको भीड लागेको थियो । खेल हेर्न साधारण दर्शकको लागि १०० र विद्यार्थीलाई रु ५० शुल्क तोकिएको थियो ।

(रासस)


१५ पुष २०७४, शनिबार २२:४३ मा प्रकाशित