काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन वैशाख महिनामा भए पनि आफ्नो दल त्यसको सामना गर्न तयार रहेको बताएका छन्। उनले आफूहरु निर्वाचनबाट नभाग्ने उद्घोषसमेत गरे ।
शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै नेपालले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी गरे। उनले एमाले अध्यक्ष केपी ओली आगामी निर्वाचनसम्म गठबन्धन फुटाउन लागिपरेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए।
‘चुनावसँग हामी आत्तिएका छैनौं। चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। चुनावबाट हामी आत्तिएका छैनौँ। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौँ। यस अर्थमा चुनावको कुराबाट अरू आत्तिएका होलान् । गठबन्धनको एकता तोड्न खोजिरहेका होलान्। भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान्। अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन। नमिलेपछि गठबन्धन टुट्छ। टुटिसकेपछि त्यसको फाइदा उठाउँला भनेर कोही त्यो मौकाको ताकमा पनि होलान्।’
अध्यक्ष नेपालले स्थानीय तहको अन्तिम चरणको निर्वाचन असोज २ मा भएकाले त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा राखेका छन्।