काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने निर्णय गरेको छ।
पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी पुस २३ गते राष्ट्रियसभाका १९ वटा सिटमै मनोयन गर्ने गरी निर्णय लिएको बताए।
‘सातै प्रदेशबाट प्रत्येक क्लस्टरबाट तीनजनाको नाम सिफारिस गर्न भनेका थियौँ। क्लस्टरवाइज नामबारे आजको बैठकमा छलफल गरेका छौँ’, उनले भने, ‘आजको बैठकमा प्रारम्भिक छलफल गरेका छौँ। क्लस्टरमा पर्ने नपर्ने भन्ने कुराबारे टुंगो गरेर १९ ठाउँमै उम्मेदवार टुंगो गर्छौँ।’
आगामी फागुनमा एमालेबाट निर्वाचित ८ जना राष्ट्रिय सभा सदस्य रिक्त हुँदैछन्। जसमध्ये एमालेले सत्ता गठबन्धनसँग ६ सिट दिन माग गरेको थियो। यसबारेमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलसमेत गरेका थिए । अहिलेकै सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको खण्डमा एमालेले सिट हात पार्न कठिन हुने देखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-