काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही पुस २६ देखि २८ गतेसम्म हुन लागेको भारत भ्रमण रद्द भएको छ। पछिल्लो समय भारतमा तीब्र रुपमा कोरोना सङ्क्रमण बढेकाले प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो।
प्रम देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गुजरातमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो।
प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने, ‘अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ ।’
देशमा बाह्य लगानी आकर्षित गर्ने उद्देश्यका साथ गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गरेको उक्त सम्मेलनको १०औं शृङ्खलामा प्रधानमन्त्री देउवासहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले भाग लिने कार्यक्रम थियो। नेपालमा प्रधानमन्त्रीसहित २५ जनाको टोली भारत जाने निश्चिित भइसकेको थियो । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गुजरातमै द्धिपक्षीय वार्ता हुने कार्यक्रम तय भएको थियो भने अन्य केही विषयमा समेत सम्झौता हुने आँकलन गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-