काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जिल्ला अधिवेशन आज हुँदै छ। प्रदेश २ का सातसहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने उसको कार्यतालिका छ ।
अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्नेछन्। एमालेले भूगोलतर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो।
कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष ओलीले आजै काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अधिकारीले भने ‘केही हिमाली जिल्लाहरूमा बाहेक अन्यमा स्थानमा भूगोलतर्फको जिल्ला कमिटीको अधिवेशनमा आज एकैपटक हुनेछ। अध्यक्षले केन्द्रीय कार्यालयबाट भर्चुअल्ली उद्घाटन गर्नु हुनेछ ।’
आन्तरिक विवादका कारण प्रदेश २ का सप्तरीबाहेक सात जिल्लामा भने आज अधिवेशन नहुने भएको छ। सप्तरीबाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने नेकपा एमालेले जनाएको छ ।
मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। एमालेको भूगोलतर्फ ७७ वटा जिल्ला कमिटी रहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-