काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले आफ्नो गृहजिल्ला इलाम पुगेर तत्कालीन एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन हरेक कोणबाट उचित थियो भन्ने कुरा अहिले आएर प्रमाणित भएको बताएका छन्।
उपाध्यक्ष नेम्बाङले नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा अगाडि भने,‘अदालतले प्रतिनिधिसभा पुर्नस्थापना नगरेको भए यतिबेला निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेका हुन्थे, तर त्यतिबेला प्रतिगमन भयो भन्नेहरूको कारण देशमा यस्तो अवस्था सिर्जना भयो। न संसद चल्यो, न सरकारले नै काम गर्न सक्यो।’
अहिलेको ५ दलीय गठबन्धन बनावटी र नक्कली भएकाले दुई मिनेटसम्म पनि सँगै बस्न सक्ने अवस्थामा नरहेको दाबी गरे। प्रतिपक्षले सत्तामा हुनेहरूको आलोचना गर्नुपर्नेमा सत्तामा हुनेहरूले प्रतिपक्षीलाई आलोचना गरिरहेको घटनाले गठबन्धन उल्टो बाटोमा हिँडेको टिप्पणी गर्दै उपाध्यक्ष नेम्बाङले गठबन्धनको आयु सकिएको दाबी पनि गरे।
बिना मूल्य र मान्यताको आधारमा गठबन्धन बनेको टिप्पणी गर्दै उनले सँगसँगै बस्न नसक्ने अवस्थामा पुगिसकेको बताए। अदालतसमेत डिफर्म हुन लागेको बताउँदै नेम्बाङले यो परिस्थितिको सिर्जना हुनुमा सरकारलाई दोष दिए।
‘अहिलेसम्म संसद चल्न सकेको छैन। अदालत डिफर्म हुँदैछ। सरकारले सिन्को भाँच्न सकेको छैन’ उपाध्यक्ष नेम्बाङले भने, ‘यो सरकारले अघिल्लो सरकारले गरेको राम्रो काम उल्ट्याउने, भत्काउने र उल्टो काम गर्नबाहेक केही गर्न सकेन।’
प्रतिक्रिया लेख्नुहोस्:-