काठमाडौं । राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय अत्यधिक भीडभाड भएपछिआजदेखि काठमाडौं जिल्लाका इलाका प्रशासन कार्यालय र सबै स्थानीय तहबाट पनि राष्ट्रिय परिचय पत्रको सेवा दिइने तयारी भएको छ
राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतका ठाउँमा भीडभाड बढिरहेका बेला उक्त भिडलाई कम गर्नका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले स्थानीय तहबाटै सेवा दिने तयारी गरेको हो ।
सेवाग्राहीलाई सम्भवभएसम्म आफ्नै जिल्लाबाट सेवा लिन पनि विभागले आग्रह गरेको विभागका निर्देशकसमेत रहेका उपसचिव ललितकुमार बस्नेतले जानकारी दिए । ‘पालिकास्तरबाटै सेवा दिन लागिएकाले जिल्ला प्रशासन काठमाडौंमा भीडभाड गर्न जरूरी छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड भएको हुनाले आइतबारदेखि काठमाडौंका पालिकास्तरबाट नै दर्ता प्रविष्ट (लाइभ इनरोलमेन्ट) गर्दैछौं,’ बस्नेतले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।राष्ट्रिय परिचय पत्र अत्यावश्यक नभएकाले हतारमा नबनाउन पनि विभागले सबै सेवग्राहीलाई विज्ञप्तीमार्फत नै आग्रह गरेको छ । ‘राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोले भीडभाड बढेको हो। राहदानी बनाउनेले मात्रै अहिले परिचय पत्र लिए हुन्छ । अरूका हकमा पछि टोली प्रत्येक वडामै पुग्ने भएकाले अत्यावश्यक नभएकाहरूले राष्ट्रिय परिचय पत्र बनाउन अहिले भीडभाड गरिरहनु पर्दैन।’
विभागले ७७ जिल्लाबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएकोले अहिले काठमाडौंमा भीडभाड नगर्न अनुरोध गरेको छ । राहदानी विभागले मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेको छ । राहदानी बनाउन राष्ट्रिय परिचय पत्र नम्बर चाहिने भएपछि सिंहदरबार, जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरलगायत ठाउँमा पछिल्लो समय भीडभाड बढिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-