काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने बताएका छन्।
नेपाली कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै शर्माले आगामी निर्वाचनबाट कांग्रेसले गतिलो, सक्षम र पाँच वर्ष नै टिक्ने प्रधानमन्त्री पाउने दाबी गरे।
विगत ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको उल्लेख गर्दै अबको युवाले त्यसबारेमा पनि सोच्नुपर्ने बताए ।
कांगेसले एउटा निर्वाचनमा जित्ने र एउटा निर्वाचन हार्ने गरेको बताउँदै कांग्रेसले जितेमा मात्रै देशको मुहार राम्रो ढङ्गले बदल्न सक्ने दावी गरे ।
नेपाली कांग्रेसलाई जित्ने मात्रै सोच छैन देश चलाउनुपर्ने दायित्व रहेको बताउँदै एक कार्यकाल मात्रै होइन अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बेला आएको शर्माको भनाइ छ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सांसद महेन्द्राकुमारी लिम्बू, पार्टीका केन्द्रीय सदस्य सुशीला ढकाल, प्रदेश नं १ का सभापति उद्धव थापा, राष्ट्रियसभाका उम्मेदवार गोपालकुमार बस्नेत, कांग्रेसका पुराना नेता पूणानन्द शर्मा लगायतले बोलेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-