काठमाडौं । अतिरिक्त शुल्क माग गर्ने मेडिकल कलेज सञ्चालकलाई कानूनी कारबाही गर्नुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सात विद्यार्थी संगठनका नेताहरुले मंगलबार गृहमन्त्री खाँडलाई भेटेर ३ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
शिक्षाजस्तो अत्यावश्यक सेवालाई आफ्नो चंगुलमा राखी विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त हुने सफलतामाथि अंकुश लगाउन खोज्ने मेडिकल सञ्चालहरुलाई तत्काल पक्राउ गरी कानून बमोजिम कार्वाही गर्नुपर्ने विद्यार्थी संगठनको माग छ ।
चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित बढी शुल्क लिने नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज र मणिपाल मेडिकल कलेजमाथि आवश्यक छानबिन हुनपर्ने र विद्यार्थी र उनका अभिभावकलाई धम्की दिनेलाई कार्वाही गर्नुपर्ने माग पनि विद्यार्थी संगठनहरुले राखेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँडले यस विषयलाई आफूले गम्भिरतापूर्वक लिएको बताएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-