दूरबिन नेपाल, न्युयोर्क
झण्डै दुई साता अघि न्युयोर्कको नेपाली समाजमा उच्च छवि बनाएका पुरुषोत्तम पन्थीलाई सामाजिक सञ्जालमा बधाइको ओइरो लागेको थियो । न्युयोर्कको क्वीन्स लाइब्रेरीको बोर्ड सदस्यमा मनोनित भएका पन्थीलाई पहिलो पटक नेपाली सो स्थानमा पुगेको भन्दै देश विदेशका धेरै नेपालीहरुले बधाई दिएका थिए । पुरुषोत्तमले बधाइको जवाफ पनि दिन पाएका थिएनन् । तर दैवको लिला, त्यो खुशी एक हप्तापनि टिक्न पाएन । जिवनामा सबैभन्दा ठुलो बज्रपात सहनु पर्यो पुरुषोत्तमले । खुशीको बधाइ थाप्न नपाउंदै दुखको समवेदनाले सामाजिक सञ्जाल भरिन पुग्यो । पुरुषोत्तमका छोरा श्रृजल र श्रीमती मिनालाई गत मंगलबार बिहान न्युयोर्कको फोहोर बोक्ने ट्रकले ठक्कर दियो । ट्रकको ठक्करबाट छोरा श्रृजलको उपचारकै क्रममा मृत्यु भयो भने, श्रीमती मिना पन्थी अझै अस्पतालमै छिन । पुरुषोत्तमको पीडाको आंकलन सायदै हुन सक्ला तर उनको संयमता र साहस भने अनुकरणीय भएको उनका निकटवर्तीहरु बताउंछन ।
पन्थी परिवारमा आएको बज्रपातले न्युयोर्कमात्र होइन अमेरिकामा बस्ने समग्र नेपाली समुदाय स्तब्ध बन्यो । यो साता यो साता न्युयोर्कस्थित नेपाली समुदाय अझ दुखि बन्यो । मंगलबार बिहानै नेपाली बालक श्रृजल पन्थी र उनकी आमा मिनालाई फोहोर बोक्ने ट्रकले ठक्कर दिएको खबर सुुनेका न्युयोर्कका नेपालीहरु अफ्नो समय मिलाएर अस्पताल जाने तथा पन्थी परिवारलाई सान्त्वना दिने कार्य गरिरहे । दश बर्षीय श्रृजलको मृत्युले आहत बनेको नेपाली समुदायले दोषीमाथीको कारवाही र पीडितको क्षतिपुर्तिको पहलपनि गरि नै रहेको छ । नहुनपर्ने त भइनै हाल्यो अब सम्हालिनुको विकल्पपनि छैन । न्युयोर्कको नेपाली समाजमा सामाजिक व्यक्तित्वको छवि बनाएका पुरुषोत्तम पन्थीको परिवारमा परेको बज्रपातमा साथ दिन न्युयोर्कका मात्र होइन अमेरिकाका विभिन्न स्थानबाट पनि नेपालीहरु उपश्थित हुनुलेपनि उनको सामाजिक छविलाई दर्शाउंछ ।
शनिवार कोरोनाको फ्युनरल होममा देखिएको नेपाली तथा पन्थीका शुभचिन्तकहरुको भिडले वास्तवमा नेपाली समुदाय पीडाको बेलामा एक हुनपनि जानेको छ भन्ने देखिन्छ । त्यसै गरि दाहसंस्कारको बेला व्यक्त भएको पीडालाई व्यक्त गर्ने शब्दहरु छैनन । अरु बेला अनेक राजनीतिक दलका गुट उपगुटमा देखिने, क्षत्रीय तथा जातीय आधारमा उपश्थित हुने भएपनि पन्थी परिवारको पीडामा समग्र नेपालीहरुको उपश्थिती देखिन्थ्यो । अरुबेला लडेपनि झगडा गरेपनि पीडामा त नेपालीहरु एक हुन्छन भन्ने सन्देशको रुपमापनि बुझन सकिएला । नेपाली समुदायमा परेको पीडामा अमेरिकाको न्युयोर्कका स्थानीय राजनीतिज्ञहरुपनि देखिनु तथा यहांका मुलधारमा सञ्चार माध्यमलेपनि प्रमुखताका साथ समेट्नुले नेपाली समुदायप्रतिको चासो र सरोकारको रुपमापनि लिन सकिन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-