काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव तथा पुराना कम्युनिष्ट नेता मोहन बैद्यले पुष्पकमल दाहाल प्रचण्डले नेतत्व गरेको नेकपा (माओवादी केन्द्र ) र नेत्रविक्रम चन्द महासचिव रहेको नेकपासँग पार्टी एकता सम्भव नभएको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग भने एकता सम्भव नभएको बताएका हुन् ।
प्रचण्डले पूर्वमाओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्दै आएको तर पछिल्लो समय आफूहरूले एकताको प्रयास नै नगरेको उनले बताए ।
प्रचण्डको पछिल्लो दस्तावेजमा पनि संसदमा जानु, सेना समायोजनमा जानु गल्ती भयो नभनेको, बरु विद्रोहको कुरा गर्नु गल्ती भयो भनेको भन्दै क्रान्तिकारी माओवादीका महासचिव बैद्यले अघि भने, ‘उहाँहरूले संसदीय व्यवस्था स्वीकार गरिसक्नुभएको छ, उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन । हाम्रो पार्टी एकता सम्भव छैन ।’
पछिल्लो समय त जनमत संग्रहबाट समाजवाद ल्याउने कार्यदिशा अगाडि सारेको भन्दै बैद्यले भने, ‘प्रचण्डजीहरूले शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ भन्नु र विप्लवजीहरुले जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुमा के फरक भयो र ?’
प्रतिक्रिया लेख्नुहोस्:-