काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार भनिएका सुवेदी दम्पती (रामप्रसाद र माधवी) रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई हिरासत मुक्त गरिएको जनाएको छ।
सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले बोलाएको बेला उपस्थित हुने गरी उनीहरुलाई हिरासत मुक्त गरिएको बताए। सुवेदी दम्पतीलाई सीआईबीले पुस ७ गते ताहचलबाट पक्राउ गरेको थियो । २५ दिन भन्दा बढी हिरासत राख्न नपाइने भएपछि उनीहरुलाई सीआईबीले हिरासतमुक्त गरेको हो ।
ललिता निवासको १४० रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर हिनामिना गरेको घटनाका उनीहरु मुख्य योजनाकार रहेको सीआईबीले दाबी गरेको छ। दुई वर्ष लगाएर अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेश भएको फाइल सरकारी वलिक कार्यालयले गत सोमबार सीआईबीलाई नै फिर्ता गरेको थियो।सीआईबीले गरेको अनुसन्धान अपूर्ण भएको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले फाइल फिर्ता गरेको थियो। सीआईबीले २ वर्ष लामो अनुसान्धान सकेर करिब ३६२ जनालाई प्रतिवादी बनाउन सिफारिस गर्दै फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-