काठमाडौं । कोरोना संक्रमण अत्यधिक मात्रामा बृद्धि भइरहँदा अब कहिलेबाट देशमा लकडाउन होला भन्ने आँकलन भइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेरमात्रै लकडाउन गरिने बताएका हुन्।
उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए।
मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए।
मन्त्री खतिवडाले भन, ‘सुरूका बेलामा आतंक बढी भएको हुनाले एक, दुइटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्यौं। जति जानेको थियो त्यति गर्यौं। विश्वमा, युरोपेली देशहरूमा लकडाउन भनेको सुन्यौं, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्यौं। हामी पनि आतंकित भयौं। गर्नुपर्ने बेलामा गरेनौं, अघि पछि गर्यौं। त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ। तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरूलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढंगले भयो। त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौं।’
प्रतिक्रिया लेख्नुहोस्:-