काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले एकलौटी रुपमा सडक लगायतका संरचना निर्माण गरिरहेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत तिब्बतको मानसरोबरसम्म जाने सडक विस्तारको काम झन् तीब्र गतिमा अगाडि बढाउन निर्देशन दिएपछि नेपालका सबै दलले भारतको यस कदमको चर्को विरोध गर्दै नेपाल सरकारलाई यसको प्रतिवाद गर्न अनुरोध गरेको केही समयपछि भारतले पनि आफ्नो मुख खोलेको छ । उसले आज ( शनिबार) एक विज्ञप्ति जारी गर्दै नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ।
काठमाडौंस्थित भारतीय दूतावासले वक्तव्य जारी गर्दै भारत–नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रुपमा यथावत र स्पष्ट रहेको जनाएको हो।
भारतले सीमा सम्बन्धि विषयहरुलाई निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिने जनाएको छ। ‘दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने हाम्रो धारणा रहेका छ।’ भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुलाई सधै हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ।’
प्रमुख प्रतिपक्षी दल एमाले, कांग्रेस, माओवादी, राप्रपालगायतका दलले भारतीय पक्षबाट नेपाली भू–भागमा सडकसहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्ध भएको उनीहरुको ठहर छ। तर सरकारले भने यसबारे औपचारिक रुपमा आफ्नो धारणा राखेको छैन।
प्रतिक्रिया लेख्नुहोस्:-