काठमाडौं । अफगानिस्तानमा तालिबानी सरकारमा आएपछि त्यहाँ मानवीय संकट रहेको र सहयोग गर्न अपील गरेपछि नेपालले पनि अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली आज (आइतबार) बिहान परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल नेतृत्वको नेपाली डेलिगेसन हिमालय एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको हो ।
परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा नेपाली टोलीलाई बिदाइ गरे । मानबीय सहायततका सामानहरुमा औषधी, घरायसी सामान र लत्ताकपडा गरेर १४ टन सहायता सामाग्री छ ।
काबुलमा नेपाली टोलीले त्यहाँस्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई सहायता सामाग्री हस्तान्तरण गर्ने भएको छ । टोली आजै राती स्वदेश फर्कने कार्यक्रम छ ।
मानवीय संकटसँग जुधिरहेको अफगानिस्तानलाई सहायता गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले गरेको आग्रहअनुसार नेपालले पनि सहायता प्रदान गर्न लागेको हो । राष्ट्रसंघले अफगानिस्तानलाई ४।४ बिलियन डलर बराबरको सहायता आवश्यक भएको जनाएको छ ।
सार्क अध्यक्ष मुलुक नेपालले संगठनको कान्छो सदस्य अफगानिस्तानलाई नैतिक र मानवीय सहयोग गर्न लागेको बताए ।
‘विश्वसामु आफ्नो सक्षमता देखाउन सक्ने खुबी छ हामीसँग, हामी त्यो उदाहरण पेश गर्न चाहन्छौं’ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने, ‘हामी साझा संस्कृति र सभ्यताले गाँसिएका छौं र परेको बेला सघाउनु नेपालको नैतिक दायित्व पनि हो ।’
नेपालले इतिहासमा पहिलोपटक संकटमा परेको मित्रराष्ट्रलाई सघाएको बताउँदै मन्त्री खड्काले पहिलोपटक जहाज लिएर नेपाल मानवीय सहयोगमा जाँदै गरेको बताए ।
गत अगस्टमा तालिवानले सत्ता कब्जामा लिएयता त्यहाँ चरम मानवीय संकट उत्पन्न भएको मन्त्री खड्काले बताए । त्यहाँको कूल जनसंख्यामध्ये २ करोड ७० लाख जनसंख्या मानवीय सहायताको पर्खाइमा रहेको जनाइएको छ ।
एक अर्को प्रश्नमा परराष्ट्रमन्त्री खड्काले सार्क अध्यक्ष मुलुकको हैसियतमा नेपालले सार्क सम्मेलन जतिसक्दो चाँडो आयोजना गर्न पहल गरिरहेको समेत बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-