काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गरेर संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदूत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो।
त्यसका लागि समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्को बैठक बोलाउन जिम्मेवारी दिइएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।
संसदीय सुनुवाई समितिले यसअघि पनि संवैधानिक निकाय मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो। तर त्यसको कार्यान्वयन नभएपछि सो विषयमा प्रधानमन्त्री देउवासँगै छलफल गर्ने निष्कर्षमा समितिमा पुगेको पनि उनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-