काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशले आजसम्म राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन्।
उनले आइतबार मीनकुमारी राणा प्रतिष्ठान बालकोटले भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनका क्रममा उनले भने, ‘नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकिएको छैन । जनताको तहसम्म परिवर्तन पुगेको छैन ।’
असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताउँदै यादवले स्व राणाको छोरा असल रहेको नमूना प्रस्तुत गरेको चर्चा गरे। पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही ५१ हजार रुपैयाँसहित वरिष्ट साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरेका छन्।
सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रदान गरे।
प्रतिक्रिया लेख्नुहोस्:-