काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल सक्षम रहेको बताएका छन् ।
आज सशस्त्र प्रहरी बल नेपालको २१ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकोमा प्रशंसा समेत गरे ।
प्रधानमन्त्री देउवाले भने, “मुलुकमा संकट आउँदा, असामान्य परिस्थितिमा विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु प्रशंसनीय छ ।”
उनले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका पनि महत्वपूर्ण रहेको बताए । क्षमता सीप विकास, संगठन सुदृढीकरण र वृत्तिविकासमा नेपाल सरकार सहयोगी बन्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताको पहिचान गरी अघि बढ्न पनि सशस्त्र प्रहरीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले नागरिकप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउनका लागि सुरक्षित वातावरण निर्माण गर्न र भ्रष्टाचारको शून्य सहनशीलतालाई अक्षरश पालना गर्दै जनताको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रक्षा गर्न सक्ने गरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउन निर्देशन समेत दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-