काठमाडौं । सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहमाथि आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ ।
चिकित्सक संघ नेपालले बिहीबार विज्ञप्ति जारी गरी डाक्टर साहमाथि आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको हो।
बुधबार सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले डाक्टर साह सवार गाडीको सिसा फुटाएर आक्रमण गरेका थिए । आक्रमणबाट डाक्टर साहको टाउको र अनुहारमा चोट लागेको छ । साहको टाउकोमा आठवटा टाँका लगाइएको छ ।
‘स्वास्थ्यको काम विशेषले अस्पतालको गाडीमा सवार अस्पताल प्रमुख चिकित्सकलाई गाडीको झ्यालको सिसा फुटाएर ज्यान जान सक्ने गरी टाउको तथा अनुहारमा निर्मम घाउ–चोट बनाउने कुकृत्यले हाम्रो समाजमा राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याएको छ,’ विज्ञप्तिमा भनिएको छ।
उसले आक्रमणमा सहभागीहरूलाई नियमानुसार गैर(जमानती हिरासतमा राखेर कडा सजाय दिन पनि माग गरेको छ ।संघले आफूहरूका माग पूरा नभए विरोधका थप कार्यक्रम ल्याउने सरकारलाई चेतावनी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-