काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देउवा नेतृवको यो सरकारले अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिले अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नभएको दावी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो सरकारको पुँजीगत खर्च गर्ने क्षमता न्यून छ, मूल्यवृद्धिको सूचक उच्च छ। बैंकमा तरलता अभाव छ। बाहिर जाने मान्छे बढिरहेका छन् तर रेमिट्यान्स घटिरहेको छ । किन यस्तो भइरहेको छ भने आज पारदर्शीताको अभाव छ । मुलुकमा हुन्डी कारोवारी सक्रिय हुन थालेका छन् । अवैधानिक क्रियाकलापले प्रशय पाइरहेका छन् ।’
सरकारको संचित कोषमा अहिले छ महिनालाई धान्ने पैसा समेत नभएको बताउँदै पोखरेलले एमाले सरकारमा हुँदा भने १४ महिनका लागि प्रयाप्त पैसा भएको दावी गरे । उनले भने, ‘एमाले सरकारमा रहँदा १४ महिनाको खर्च धान्ने संचिति थियो । अहिलेको सरकारसँग ६ महिनाको खर्च धान्ने पनि संचिति छैन् । सरकारको संचित कोषमा १० अर्ब पनि पैसा छैन ।’राष्ट्रिय स्वाधीनताका पक्षमा समेत यो सरकार कमजोर रहेको पोखरेलको अरोप छ । उनले भने, ‘तुइन प्रकरणमा यो सरकारले कुनै पहल गर्न सकेन ।’
प्रतिक्रिया लेख्नुहोस्:-