काठमाडौं । एमसीसी अनुमोदनबारे सत्तारुढ दल नै विभाजित भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा सभापति रहेको दल नेपाली कांग्रेसले भने अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सत्तारुढ गठबन्धन भन्दा पनि एमसीसीलाई प्राथमिकता दिनुपर्ने आवाज चर्को रुपमा उठेको छ । केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले यो गठबन्धन रहे वा नरहे पनि एमसीसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।
बिहीबारको बैठकबाट बाहिरिँदै नेता कोइरालाले भने ‘बैठकमा एमसीसीका विषयमा छलफल भयो । एमसीसी पारित गर्नुपर्छ भन्ने निष्कर्ष छ ।’
उनका अनुसार बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे भइरहेको छलफल जानकारी गराएर केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई एमसीसीको विषयमा बोल्न समय दिएका थिए । महतको व्याख्यापछि देउवाले एमसीसीका विषयमा राम्रा–नराम्रा विवरण आफूलाई दिन महतलाई आग्रह गरेका केन्द्रीय सदस्य कोइरालाले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-