पाँचथर । फाल्गुनन्द गाॅउपालिकाका तत्कालिन अध्यक्ष अमर नेम्बाङको प्रथम स्मृति दिवसमा श्रष्टा सम्मानका साथै शैक्षिक क्षेत्रलाई आर्थिक सहयोग गरिएको छ ।
२०७५ माघ २६ गते गाॅउपालिका प्रमुखकै हैसियतमा फाल्गुनन्द–५, नं.वडा कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरिसकेलगत्तै हृदयघातका कारण अमरको निधन भएको थियो ।
अमर यस क्षेत्रको अनुभवि र कुशल राजनीतिज्ञका साथै साहित्यकार पनि हुन् । फाल्गुनन्द–३, पौवास्थित अमर नेम्बाङ स्मृति रङगशालामा सोमवार एक कार्यक्रमका बीच उनको राजनीतिक तथा साहित्यिक जीवनका बारेमा चर्चा गरियो । सोही कार्यक्रममा अमर नेम्बाङ स्मृति साहित्यीक पुरस्कार अनुसन्धाता, समालोचक तथा लेखक डाक्टर देवी क्षेत्री दुलाल र कवि तथा समालोचक मुनाराज शेर्मालाई संयुक्त रुपमा प्रदान गरियो । ताम्रपत्र सहित पुरस्कारको रासी एक लाख रूपैयाको छ ।
प्रमुख अतिथि साहित्यकार डाक्टर तुलसी भट्टराई र बिशेष अतिथि साहित्यकार कृष्ण बरालले पुरस्कार वितरण गरेका थिए । सो अबसरमा भट्टराईले नेपाली साहित्य र राजनीतिमा पौवासारतापका नेम्बाङ परिवारको ठूलो भूमिका रहेको उल्लेख गरे । ‘पूर्वियसँगै पाश्चात्य साहित्यबारे मिहीन अध्ययन गरेका अमर नेम्बाङ नेपाली साहित्यका एक बिशिष्ठ स्रष्टा हुन्,’ भट्टराईले भने ।
अमेरिका पुगेर पनि गाउँमै फर्कि जन्मभूमिको सेवामा आफूलाई समिर्पित गरेका अमरको साहित्यिक मात्र नभएर सामाजिक र राजीतिक क्षेत्रमा समेत बिशिष्ट योगदान गरेको भट्टराईले बताए ।
पुरस्कृत स्रष्टाद्वय दुलाल र शेर्माले अमर नेम्बाङको नाम जोडिएको पुरस्कार ग्रहण गर्न पाउँदा खुसी लागेको बताए ।
अमर नेम्बाङको साहित्यिक, सामाजिक र राजनीतिक ब्यक्तित्वबारे बिशेष अतिथि बरालसँगै साहित्यकार प्रेम ओझा, धर्मेन्द्रबिक्रम नेम्बाङ, प्रकाश थाम्सुहाङ र मधुराज केरुङले प्रकाश पारेका थिए ।
अमर नेम्बाङका अमेरिका भ्रमणका केही सम्झनाहरु (संस्मरण), सम्झनाका तरेलीहरु (संस्मरण) र एउटा साँझको अवशान (कविता संग्रह) प्रकाशित छन् ।
इको राइटिङका अभियन्ता अमरको सम्झनाका तरेलीहरु पर्यावरणीय लेखनको प्रयोग गरिएको अब्बल र बिशिष्ठ कृति हो । जुन कृतिको अंग्रेजी अनुवाद प्रकाशनको तयारीमा रहेको छ ।
वि.स.२०३३ सालमा गाउँपञ्चायत चिलिङदिनमा नेपाली कांग्रेसको तर्फबाट जनपक्षिय उमेदवार बन्दै निर्विरोध निर्वाचित भएका अमर साविक पौवा सारताप गाविस अध्यक्ष पनि चयन भएका थिए । यस्तै उनी गणतन्त्र नेपालको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा फाल्गुनन्द गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
उनी तीनवटै व्यवस्था गाउँञ्चायत, गाउँविकास समिति, गाउँपालिकाको जिम्मेवारी वहन गर्ने व्यक्ति हुन् । नेम्बाङले फाल्गुनन्द गाउँपालिकामा आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठन शुरू गरेका थिए ।
२०७५ सालमा नेपाल सरकारले उनलाई सुप्रवल जनसेवा श्री पदकले विभुषित भएका उनको पछिल्लो समयमा राजनीतिज्ञ, बिश्लेशक तथा विज्ञहरुले पनि उनको जिवनी अध्यन गर्न थालेका छन् ।
स्मृति दिवसको अवसरमा “अमर नेम्बाङ लिम्बु ट्रष्ट”द्वारा मेन्छ्यायेम एफएम १०३.४ मेघाहर्ज तेह्रथुमलाई पाँच हजार रुपैया, स्थानीय फाल्गुनन्द-३, पौवासारतापका विद्यालयको शैक्षिक उन्नति सहयोग र छात्रवृत्तिका लागि दुई विद्यालयहरू फक्ताङलुङ वाल बिकास आधारभूत विद्यालयललाई ५० हजार रुपैंयाँ व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर नेम्बाङ मार्फत र स्थानीय पद्मकन्या आधारभूत विद्यालयमा अध्यनरत बिध्यार्थीको छात्रवृतिको निमित्त १२ हजार रूपैंया विद्यालयका प्रधानध्यापक लक्षमण नेम्बाङलाई नगद सहयोग रकम प्रदान गरियो ।
साथै केही समय अघि आगलागिबाट घर जलेका फाल्गुनन्द–३, गुम्बाडाँडाका धनकुमार तामाङलाई पनि हाल युएसएमा रहेका ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङको पहलमा संकलन गरिएको ५० हजार रुपैंयाँ प्रदान गरिएको थियो । कार्यक्रम कवि धर्मेन्द्रबिक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-