काठमाडौं । नेपालमा संसदबाट एमसीसी पास गर्ने विषयलाई लिएर अमेरिका र चीनबीच बक्तब्यबाजी चलेपछि परराष्ट्र मन्त्रालयले आज (आइतबार) नेपालले स्वतन्त्र, सन्तुलित र असंलग्न विदेश नीतिबमोजिम आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार नै विकास सहायता स्वीकार गरेको जनाएको छ।
परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले स्वतन्त्र, सन्तुलित र असंलग्न विदेश नीति अवलम्बन गर्दै आएको छ। यही नीतिबमोजिम आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार सार्वभौम मुलुक नेपालले विकास सहायता स्वीकार गर्छ र उपयोग गर्छ ।’
दुई विश्व शक्ति अमेरिका र चीनबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको अनुदान सम्झौताबारे आरोप—प्रत्यारोप चलेपछि परराष्ट्र मन्त्रालयको यस्तो भनाइ सार्वजनिक भएको हो।
‘ मुलुक तथा परम्परागत रुपमा नेपालले मजबुत साझेदारी र सहकार्य गर्दै आएका संयुक्त राष्ट्रसंघलगायत क्षेत्रीय र बहुपक्षीय विकास साझेदारले सामाजिक तथा आर्थिक विकासका लागि निरन्तर दिँदै आएको सहयोगप्रति नेपाल सरकार कृतज्ञ छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
परराष्ट्रको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपालले आफ्नो राष्ट्रिय हित र प्राथमिकताका आधारमा विकास सहायता स्वीकार गर्ने निर्णय लिएको छ। नेपाल र नेपाली जनताको हितमा कस्तो खालको विकास सहायता नेपाललाई चाहिन्छ भन्ने कुराको निक्र्यौैल गर्ने कुराको निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्छ। सबै मित्रको निरन्तर सद्भाव हामीप्रति रहने हामीले विश्वास लिएका छौँ।’
प्रतिक्रिया लेख्नुहोस्:-