काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।
आज (शनिबार) नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशन उद्घाटन समारोहलाई राजधानीमा सम्बोधन गर्दै उनले वर्तमान सरकार जरा बिनाको मुला भएको बताएका हुन्।
सानो मुलाको पनि जरा हुने भन्दै उनले अहिलेको सरकार पाँचजनाको परमादेशले बनेको र यसलाई उखेल्ने दिन कुरिरहेको टिप्पणी गरे। उनले उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने दाबी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ। यसको (सरकारको) त जरा न फरा, पाँचजनाले नियुक्त गरेको छ। जरा न फराको सरकार। केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ। बालुवामा लगेर राखेको नक्कली मुला, यसो एकछिन बालुवामा राखेजस्तो हो यो। फुत्त तान्दा जरोसरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ। हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ। भागेर कहाँ जान्छ ? चुनाव त गर्नैपर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-