काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न आग्रह गरेका छन् ।
उनले आइतबार प्रज्ञा भवनमा आयोजित निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभालाई सम्बोधन गर्दै निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, गुणस्तरीय काम नगर्ने तथा विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याप्रति जिम्मेवार बन्नुपर्ने बताए ।
प्रधानमन्त्रीले ठेक्का लिनुपूर्व व्यवसायको सामर्थ्य, मानव संशाधनको स्थिति र समयमै काम गर्न सकिन्छ वा सकिँदैन भन्ने अध्ययन गर्न सुझाव समेत दिए ।
अधिकांश निर्माणका काम किन समयमा पुरा हुँदैनन् भनेर प्रधानमन्त्रीले ठेकेदारलाई प्रश्न गरे । उनले सोधे, ‘ठूला(ठूला राष्ट्रिय राजमार्गहरु नै समयमा निर्माण सम्पन्न नभएर देशले किन सास्ती भोग्नु परिरहेको छ ? निर्माण समयमै सम्पन्न गर्न महासंघको ठोस कार्ययोजना के छ ? यसबारे पनि साधारण सभामा बहस होस ।’
प्रतिक्रिया लेख्नुहोस्:-