दूरबिन नेपाल संवाददाता अमेरिका, २३ मार्च/ यहाँ रहेका चार्टड एकाउन्टेन्ट तथा लेखा व्यवसायमा आबद्ध नेपालीहरूको भेला शनिवार हुँदैछ । नेपालस्थित नेपाल चार्टर्ड एकाउन्टेन् संस्था (आइक्यान)को सदस्यता लिएका चार्टड एकाउन्टेन्ट तथा रजिष्टर्ड लेखा परिक्षकहरुको सहभागिता रहने भेला भर्जिनियामा हुन लागेको हो ।
अमेरिकामा आइक्यनको वैदेशिक शाखाको विधिवत घोषणा हुने मुख्य कार्यक्रमका लागि उनीहरूको जमघट हुन लागेको हो । ‘अमेरिकी कानून अनुसार दर्ता भएको युएस च्याप्टर अफ आइक्यानको घोषणा हुनेछ’ आइक्यान अमेरिका च्याप्टर ईनिशियसन कमिटीका संयोजक गणेश बानियाँले दूरबिन नेपालसँग भने । स्थापना आइक्यानले विदेशमा रहेका आफ््ना सदस्यहरूलाई पनि सङ्गठित गराउने तथा एक अर्कामा व्यावसायिक अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्यकासाथ विदेशमा च्याप्टर खोल्ने नीति लिएपछि उनीहरू कानूनी रूपमै सङ्गठित हुने बाटो खुलेको हो ।
कार्यक्रमका लागि नेपालबाट आइक्यानको उच्चस्तरीय टोली र अमेरिकाको विभिन्न राज्यमा छरिएर रहेका चार्टड एकाउन्टेन्ट तथा रजिष्टर्ड लेखा परिक्षकहरु भर्जिनिया आइरहेका छन्। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संयोजक बानियाँले फोनमा जानरी दिए । उनका अनुसार आइक्यान नेपालका अध्यक्ष प्रकाशजंग थापा, निवर्तमान अध्यक्ष महेश खनाल, पूर्व अध्यक्ष प्रकाश लम्साल र काउन्सिल सदस्य सूर्यप्रसाद अधिकारी कार्यक्रमस्थलमा आइसकेका छन् । त्यस्तै अमेरिकाको डिसी क्षेत्रका साथै क्यालिफोर्निया, फ्लोरिडा, बोस्र्टन, पेन्सिलभानिया लगायतका राज्यबाट सहभागीहरू आउने क्रम जारी छ । नेपालको आइक्यान उच्चस्तरीय टोली अमेरिकाको ईन्स्टिच्यूट अफ सर्टिफाईड पब्लिक एकाउन्टेन्ट (एआइसिपए) को मुख्यालय नर्थ क्यारोलोना पनि जानेछ ।
नेपालको आइक्यान र अमेरिकाको एआइसिपएबिच सम्बन्ध बिस्तारका लागि यहाँका पदाधिकारीसँग छलफल गर्ने तय भएको आइक्यान नेपालका अध्यक्ष प्रकाशजंग थापाले बताए । ‘दुई मुलुकको सङ्गठनको व्यावसायिक सम्बन्ध बिस्तार गरी भविष्यमा के कस्ता योजना बनाउन सकिन्छ भन्नेबारे छलफल हुनेछ’ उनले भने । अमेरिकामा आइक्यानका करिब ७० सदस्यहरू रहेको अनुमान छ । तीमध्ये सम्पर्कमा पुगेर ३६ जना च्याप्टरमा विधिवत सदस्य भइसकेका छन् । ‘युएस च्याप्टर अफ आइक्यान लेखा व्यवसायीहरूको अर्थपूर्ण व्यावसायिक सङ्गठन बनाउने लक्ष्यका स्थापना भएको छ’ बानियाँले भने, ‘पेशागत अन्तक्र्रिया गर्ने थलो हुनेछ ।
लेखा तालीम सञ्चालन गर्ने, नयाँ आउनेलाई रोजगारीको नेटवर्किङ, अन्तर्वार्ताको तयारी, प्रविधिको जानकारी गराइनेछ ।’ गत महिना आइक्यानले अस्ट्रेलियामा पहिलो वैदेशिक च्याप्टर स्थापना गरिसकेको छ । नेपालमा लेखा व्यवसायको नियमन तथा जनशक्ति उत्पादनका लागि नेपाल चार्टड एकाउन्टेन्ट नियमावली २०६१ अन्तर्गत अर्धन्यायिक निकायका रूपमा आइक्यान स्थापना भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-