काठमाडौं । आज चीनका विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदै छन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । । तीन दिने नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् ।
द्धिपक्षीय छलफलका क्रममा उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर नेपालसँग छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सन्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत छ ।
प्रतिक्रिया लेख्नुहोस्:-