काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणमा आज काठमाडौं आइपुगेका छन् ।
परराष्ट्रसचिव भरतराज पौड्यालले चिनियाँ विदेशमन्त्री यीलाई विमानस्थलमा स्वागत गरेका थिए । वाङको भ्रमण दलमा २५ सदस्य रहेको बताइएको छ ।
आज उनको कुनै भेटघाट कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिइन् । भोली बिहान वाङले सबैभन्दा पहिले नेपाली समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ताको कार्यक्रम छ । त्यसपछि प्रतिनिधिमण्डलबीच वार्ता हुने कार्यतालिका रहेको छ ।
भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछन् । यस्तै आइतबार चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया लेख्नुहोस्:-