काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक समस्याको निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अर्थतन्त्रलाई चलायमान गर्नको लागि आफू सक्रिय रुपमा लाग्ने बताए ।
अहिले राजस्वले चालु खर्च समेत नधान्ने अवस्था रहेको बताउँदै उनले राजस्व संकलनलाई उच्च प्राथमिकता दिने बताए । साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने उनको भनाइ छ । हाल सहकारी तथा लघुवित्तमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । अर्थतन्त्रका समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरु खोजेर अघि बढ्ने उनको भनाइ छ ।
‘माइक्रोफाइनान्स तथा सहकारीमा जुन समस्या देखिएका छन्, राष्ट्र बैंकसँग समन्वय गरी अघि बढ्नु आवश्यक छ’ महतले भने ‘ब्याजदर उच्च छ, सेयर बजार झरेको छ, यो निराशालाई आशामा बदल्नुपर्नेछ ।’ अर्थतन्त्रका समस्या समाधानका लागि आफू एक्लैले मात्रै नभई सम्पूर्ण रुपमा मन्त्रालयको टिमले साथ दिनुपर्ने उनले बताए । कर थपेर भन्दा पनि दायरा बढाएर राजस्व बढाउनुपर्ने उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-