काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा नियमित रुपमा बिजुली उपलब्ध गराउन नसक्ने भए लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरेको छ ।
उनीहरुले आज (शुक्रबार) संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै नियमित बिजुली उपलब्ध गराउन प्राधिकरणसँग माग गरेको हो । नियमित बिजुली उपलब्ध गराउन नसके लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने निजी क्षेत्रको माग छ । ‘विद्युतमा देखिएको ट्रिपिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब ज्याला बढ्नेलगायतका समस्या देखिएका छन्,’ निजी क्षेत्रका छाता संस्थाहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान समस्याको तत्काल समाधानका लागि नियमित रुपमा भारतीय बजारबाट विद्युत् खरिद गरी उद्योगहरुलाई निर्बाध उपलब्ध गराउन वा त्यो सम्भव नभए उद्योगहरुमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न प्राधिकरणसमक्ष अनुरोध गर्दछौं ।’
अनियमित विद्युत् आपूर्तिका कारण बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङलगायतका औद्योगिक करिडोरका उद्योग सञ्चालन गर्न नसक्ने समस्या सिर्जना भएको निजी क्षेत्रले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-