काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धनको विद्यमान सरकार पाँच वर्षसम्म नै कायम रहने बताएका छन् ।
अध्यक्ष नेपालले बुधबार पार्टी केन्द्रीय प्रचार विभागद्वारा आयोजित सम्पादकसँगको नियमित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने धारणा व्यक्त गरे । राष्ट्र, राष्ट्रियता, संविधान र शासन प्रणालीको रक्षाका लागि अहिले लोकतान्त्रिक–वाम शक्तिबीच सहकार्य भएको स्पष्ट गर्दै उनले केन्द्रमा जस्तै क्रमशः सबै प्रदेशमा लोकतान्त्रिक–वाम गठबन्धन सरकार गठन हुने बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास, समृद्धि र सुशासनका पक्षमा मुलुकका वामपन्थी शक्तिबीच सहकार्य, मोर्चा र एकतासम्म हुनसक्ने तर आफूले नेतृत्व गरेको एकीकृत समाजवादी अन्य पार्टी विशेषसँग विलय नहुने अध्यक्ष नेपालले स्पष्ट गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-