काठमाडौं । नेकपा (एमाले ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले नराम्रो काम मात्रै गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सोमबार नेपालगञ्जमा युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकार भएको बताए।
उनले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाए। ‘कुनै बेला पञ्चायत पनि थियो। तर हाम्रै अगाडि गर्ल्याम गुर्लुम्म ढल्यो। घाम रहुन्जेल पञ्चायत रहन्छ भनिन्थ्यो। हामीले केही समयपछि नै ढल्छ भन्यौं। हामीले निरंकुश रातन्त्र पनि ढल्छ भनेका थियौं। त्यो पनि समाप्त भयो। आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ। यसमा पनि कतिपय विकृतिहरू आएको छ। गठे संस्कृत, यो गठबन्धनको संस्कृति। जसमा राजनीति छैन, विचार छैन। जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ,’ उनले आरोप लगाए।
प्रतिक्रिया लेख्नुहोस्:-