बुटवल, १ बैशाख/ ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस मनाइने भएको छ ।
किल्लाको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बुटवल उपमहानगरपालिकाको संयोजनमा दिवस मनाउन लागिएको हो । नेपालले अंग्रेजलाई हराएको दिनको सम्झनामा यो दिवस मनाइन लागिएको हो । किल्लालाई प्रमुख सम्पदाका रुपमा विकास गर्न सरोकारवालाले साझा संकल्प गरेका छन् ।
उपमहानगरपालिकाले आज आयोजना गरेको सर्वपक्षीय भेलामा सहभागीले जितगढीको विकासका लागि सहकार्य गर्ने सामूहिक संकल्प गरेका हुन् ।
उपमहानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरु किल्लाहरुमा भने आफैँ हारेको थियो ।
जितगढीमा भएको विसं १८७२ वैशाख ७ गतेको लडाइँमा नेपालसँग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ । सोही दिन (वैशाख ७ गते) लाई विजय उत्सव दिवसका रुपमा उपमहानगरपालिकाले मनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । वैशाख ७ गतेको मूल समारोहसहित तीन दिनसम्म विभिन्न कार्यक्रम गरिने जानकारी गराउँदै प्रमुख सुवेदीले ऐतिहासिक सम्पदाको संरक्षण र संबद्र्धनका काममा सहकार्य गर्न यहाँका सामाजिक संघ संस्थाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली सेनाको मध्यपश्चिम पृतनाका महासेनानी सन्तोषराज पाण्डे, जबरजंग गणका प्रमुख सेनानी अच्युतबहादुर शाह, नं २२ बाहिनीका सेनानी गोविन्दप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक वसन्त पाण्डे, बटौली संरक्षण समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौललगायतले जितगढी सम्पदाको संरक्षण र संबद्र्धन गर्ने काममा आफूहरुले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संरक्षणमा सक्रियता
चुरे पर्वतको काखमा र तिनाउ खोलाको पश्चिम किनारमा अवस्थित यो गढी १६ औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । यो खण्डहर बनेको किल्लाको संरक्षणको प्रभावकारी पहल विसं २०५४ सालमा भएको थियो । उपमहानगरले यहाँ उजिरसिंहको पूर्णकदको शालिक र अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा फहाराउने योजना तय गरेको छ ।
भित्री पूर्वाधार निर्माण, झण्डा र शालिक निर्माणका अतिरिक्त त्यस क्षेत्रका भवनहरुको रङ एउटै बनाउने गरी उपमहानगरले योजना बनाएको योजना प्रमुख सुमन श्रेष्ठले जानकारी दिनुभयो । जितगढीको सम्बन्धमा स्पष्ट उल्लेख विसं १८७१ को नेपाल र कम्पनी सरकारबीच भएको युद्धको समयमा भएको पाइन्छ । विसं २०५२ मा पुरातत्व विभागले गढी संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा पुरिएको पर्खालको पेटी भेटिएको थियो ।भरत केसी/रासस
प्रतिक्रिया लेख्नुहोस्:-