Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सन्दर्भः आमा दिवस, तर मैले आमासँग कुरा गर्दै गरिँन

बैशाख ३, २०७५ ६:५९ मा प्रकाशित
सन्दर्भः आमा दिवस, तर मैले आमासँग कुरा गर्दै गरिँन
Share on FacebookShare on Twitter

-नारायण अधिकारी, भर्जिनिया

मैले आजसम्म जे–जति लेखें, आमाको बारेमा एउटा पनि शब्द लेखेको रहेनछु । सुदूर अतीत, सम्झन सके जति पछाडिसम्म सम्झें तर कतै पनि आमाको बारेमा लेखेको सम्झिन्न । के सम्झना नभएर हो “आमाका बारेमा” नलेखेको ? होइन । माया प्रेम नभएको हो कि ? त्यो पनि होइन । त्यसो भए किन त ? यसको उत्तर खोज्दै जाँदा लेख्ने चाहना नै नभएर “आमा” नलेखेको भने होइन; के लेख्ने ? कहाँबाट लेख्ने ? कसरी लेख्ने ? हिम्मत नै नभएर हो ।

म आमालाई सम्झन्छु फेरि । मलाई आमाले कहिल्यै अर्ती उपदेश दिनुभएन । उहाँले मलाई यसो गर्, उसो गर्, यो भयो त्यो भएन भनेर भन्नुभएको पनि सम्झना छैन । खासमा, आमाले आजसम्म मलाई केही पनि भन्नुभएको छैन, केही पनि अह्राउनुभएको छैन, एक किसिमको सम्वादहीन अवस्था जस्तो । यो कुनै झुठो र बनिबनाउ कुरा होइन । मलाई अहिले पनि सम्झना छैन, हामी आमा छोराका बीच लगातर बसेर ३० मिनेट कुरा भएको होस् । 

आमाले मलाई केही पनि भन्नुभएन, केही पनि सिकाउनुभएन । आधा घण्टा त बसेर आमाछोराका बीच कुरा भएको छैन भने म कस्तो छोरो, उहाँ कस्ती आमा होला ? फेरि पनि भन्छु, अहिले भर्खरै निकै सोचेर सम्झें, फेरि पनि आमाले मलाई कुनै पनि अर्ती उपदेश दिएको सम्झना छैन र आमासँग आधा घण्टासम्म लामो बोलचाल भएको पनि सम्झना छैन ।

तर अर्ती उपदेश नदिनु र बोलचाल नहुनुका बाबजुद आमाले सबै दिनुभएछ मलाई । नबोली नबोली, चुपचाप, चुपचाप दिनुभएको सम्झना आउँछ । सानामा स्कुल जाँदा दुध र भात दिँदै “छिटोछिटो खाएर स्कुल जा” भनेर खेद्नुभयो । स्कुलबाट घरमा आउँदा आमा कतै खेतबारीतिर काम गर्दै हुनुहुन्थ्यो तर खाजा भने ठिक्क पारेर राखिदिनुभएको हुन्थ्यो । 

बुबासँग बोल्न हत्तपत्त हिम्मत हुँदैनथ्यो । किताब, कापि, कलम, पेन्सिल, झोला, लुगा, चप्पल, जुत्ता सबै आमालाई भनेपछि उहाँले बुबालाई भनेर किनाइदिनुहुन्थ्यो । आमाले कहिल्यै कति पढिस् पढिनस्, स्कुल गइस् गइनस् भनेर पनि सोध्नुभएन तर मागेका बखत स्कुलको शुल्क आज नभएर भोलि अवश्य नै दिनुभयो ।

घरबारीमै कहिले मकै पाक्थे, मकै खुवाउनुभयो । गहुँ पाक्थ्यो, गहुँका रोटी खुवाउनुभयो । उखु हुन्थे, लाँक्रा काटेर “ला, खा” भन्नुहुन्थ्यो । हलुवावेद, आरू, आरूबखडा, काँक्रा, तरूल, सखरखण्ड बारीभरि हुन्थे । ती सबै मर्जीले खाए पनि कहिल्यै केही बोल्नुभएन । ती सबै उचित समयमा खनजोत गरी नबोली खान दिनुहुन्थ्यो आमा । 

दौरा सुरूवाल लगाएर हिँडिन्थ्यो पहाडमा हुँदा । सुरूवालको घुँडा फाटेको पनि आफूलाई मतलव नहुँदा बुबाले नलगाएका अथाव फाटेका लुगा च्यातेर फाटेको घुँडा टाल्न दर्जीकामा पुर्याएर घुँडा टालेको सुरूवाल ल्याइदिनुहुन्थ्यो आमा । 

बुबाले दुईचार पटक दह्रैसँग सुम्ला बस्नेगरी चुट्नुभएको सम्झना तर आमाले धेरै गाली गर्दा “पापी मोरा”सम्म भन्नुहुन्थ्यो, कुटेको सम्झना पनि छैन । बुबाको नाम भन्दा सातो जाने मलाई आमाको नाम भन्दा कहिल्यै भय लागेन ।

बुबाले “खायो खाएन” कहिल्यै सोध्नुभएन । आमाले पनि “खाइस् खाइनस्” भनेर सोध्नुभएन तर सँगसँगै बसेर खुवाउनुभयो, “खाइस् खाइनस्”को मौका नै आएन । खाना खाँदा कति, ५ देखि १० मिनेटभित्र खाना चिलिम पारिन्थ्यो । तसर्थ, खान कहिल्यै आधा घण्टाको समय लागेन भनेपछि आमासँग आधा घण्टा कुरा कहिले भयो त ? अ हँ, आमासँग आधा घण्टा कुरा गरेको आज पनि स्मृतिमा छैन । घरमा काम गर्नुपर्दा आमाले “यही गर्” भन्नुभएन । बरू भन्नुहुन्थ्यो, कि भैंसी चराउन जा, कि धान कुट्न ढिकीमा हिँड् । अरू दाजुभाइ भैंसी फुकाएर चरनमा छोडी मजाले ढुंगामाथि बसेर सुसेली हाल्दै बस्थे तर म चाहिँ ढिकी कुट्न खटिँन्थें र थाकेर हैरान हुन्थें । त्यसैले मलाई आमा कहिलेकाहीं “काम छान्न जान्नु छैन, थाकें पो भन्छ” भन्नुहुन्थ्यो ।

आमासँग सम्वादशून्य अवस्थामै एसएलसी सकियो । कलेज गएँ । “कुन कलेज कहिले जान्छस् ?” भनेर आमाले कहिल्यै सोध्नुभएन तर जाने दिन भारीतारी मिलाउँने र खाजा सामल एवम् सिरक डसनाको व्यवस्था आमाले नै गरिदिनुभएको थियो । इन्टरमिडियट सकेपछि म स्थानीय निजी स्कुलमा शिक्षण गर्न थालें । थोरै भए पनि पैसा आउँथ्यो । बुबा भन्नुहुन्थ्यो, “ए ! पैसा ले ले छ भनें ।” तर आमाले भने कहिल्यै पैसा माग्नुभएन । 

२०५५ सालमा एक दिन आमाले “अब तेरो विवाह गर्नुपर्छ” भन्नुभयो । कस्तो संयोग, त्यसको करीव ३ महिनापछि मेरो बिबाह भयो । अर्को वर्ष हामीलाई एक पुत्र प्राप्त भयो भने बुबाआमालाई एउटा नाती लाभ । नाती २ वर्षको भएपछि आमाले एक दिन मलाई कहिल्यै नसोचेको कुरा सोध्नुभयो, “अर्को बच्चो कहिले बनाउँछौ तिमेरू ?” म छक्क र दोधारमा परें किनभने हामी अर्को सन्तान नजन्माउने सोचमा थियौं । एक दिन म अचानक श्रीमती लिएर बाहिर जान लागेको थिएँ । आमाले सोध्नुभयो, “कहाँ जान लागेको ?” मैले भनें, “अस्पताल ।” 

जीवनमा पहिलोपटक आमाले बेस्सरी हप्काउँदै रिसाएरै भन्नुभयो, “लु जाइ हेर त अस्पताल । मैले १२ वटा सन्तान जन्माएर त आजसम्म तगडै काम गर्दैछु । तँ भने अर्को बच्चो हुनेभयो भनेर फाल्न अस्पताल जान लागेको ? तलाँई धेर भयो भने तैलें पाल्नुपर्दैन, म पाल्छु।” आमाले नमागी मैले पहिलो नाती दिएँ तर कहिल्यै केही नमागेकी आमाले मुखै फोरेर दोस्रो नातीनातिनी माग्नुभयो । 

आमाको शंका गलत थिएन तर हामी बच्चा क्युरेट गर्न जान लागेका थिएनौं । बच्चा भए नभएको परीक्षण गर्न जान लागेको थियौं । हामीले आमालाई “त्यस्तो कुराको लागि जान लागेको होइन” भनेर अर्कै कारण देखाएर गयौं । आमाको शंका निवारण भएको थिएन तर अस्पतालमा पुगेर विशेष कारणले क्युरेट भने गर्नुपर्यो । अघि अस्पताल जाँदा सद्दे गएकी श्रीमती घर आउँदा बिरामी जस्ती देखिएकी थिइन् । बुहारी देखेर आमा रिसले मसँग आगो हुनुभएको थियो, तर मैले परिस्थितिको कारण बताइँन । आजसम्म आमाले यो कुराको रहस्य थाहा पाउनुभएन । हो, त्यसको ठीक पाँच वर्षपछि भने आमाले आफूले चाहेको दोस्रो नाती भने प्राप्त गर्नुभयो ।

यो पछिल्लो कुरालाई यही बिर्सौं । म भन्दै थिएँ, त्यसपछि म विदेश उडें श्रीमती र दुई छोरासहित । पैसा ठिकठिकै कमाइयो तर आमाले मलाई “कति कमाउँछस् ? के काम गर्छस् ?” जस्तो व्यक्तिगत प्रश्न सोध्ने अधिकार राखे पनि कहिल्यै सोध्नुभएन । आमाले साँचै यस्ता प्रश्नहरू कहिल्यै किन सोध्नुभएन भन्ने कुराको जानकारी मलाई पनि छैन । के आमाका मनमा यस्ता प्रश्नहरू नै कहिल्यै आएनन् वा आएर पनि सोध्न चाहनुभएन ? कहिलेकाही घरमा दूरभाषमा कुरा गर्दा म भन्थें, “आमा, केही खर्चबर्च चाहिएको छ भने भन्नुहोला है ।” आमा भन्नुहुन्थ्यो, “ठीकै छ, दुःखसुख चलेकै छ । तलाईं पनि साह्रो गाह्रो नै होला विदेशाँ, केटाकेटी छन्, भो पर्दैन ।” “आउनुहोस् न त यता एकाध महिना अमेरिका घुम्न तपाईंहरू, म सिफारिस पत्र पठाउँछु है त ।” मैले आमालाई सोधें । आमाले भन्नुभयो, “खै, तेरै बुबासँग कुरा गर् ।” आमाले बुबालाई फोन दिनुभयो । बुबासँग कुरा गरेपछि उहाँहरू अमेरिका भ्रमणमा आउनुभएको थियो, २०१० सालतिरको कुरा ।

म आज दुई छोराको बाबु भएको छु तर मैले कहिल्यै आमासँग लामो कुरा गर्न पाइँन, आमाले मसँग कहिल्यै केही माग्नुभएन, आखिर किन होला ? म आमालाई सोध्ने विचारमा थिएँ । के आमाले मसँग जस्तै अरू दाजुभाइहरूसँग पनि केही माग्नुभएन ? यो लेखिरहँदा अर्को जिज्ञासा उत्पन्न भएको छ, यसको उत्तर पनि मसँग छैन । शायद आमाले अब यस प्रश्नको उत्तर कहिल्यै दिन सक्नुहुनेछैन किनभने आमा हिजोआज मस्तिष्कघातबाट पीडित हुनुहुन्छ । उहाँ स्पस्ट बोल्न, मान्छे चिन्न र बोलेका कुरा बुझ्न वा सम्झन सक्ने अवस्थामा हुनुहुन्न । तसर्थ, अब यो प्रश्न सदाका लागि निरूत्तर प्रश्न मात्र बनेर उभिने भयो । 

अहिले आमा जीवन र मृत्युको दोसाँधमा अलमलिनुभएको छ । यतिबेला उहाँमा जीवनको कुनै मोह छैन र मृत्युको आभास पनि छैन । मस्तिष्कघात भएको व्यक्ति न जीवनको बोधसँग रमाउँछ, न मृत्युको आतंकले डराउँछ । हो, मेरी आमामा अहिले जीवनको न बोध छ, न मृत्युको भय । 

सम्झन्छु, आमा बिसं. २००० साल जन्मनुभएको हो । उमेरको हिसाबले अब ७५ वर्ष हुनुभयो । मैले आमा र बुबा दुवै जनालाई उहाँहरूको विवाह कति सालमा, कसरी भयो भन्नेबारेमा पनि सोधेको रहेनछु, अहिले पो सम्झँदै छु । तर सम्झना छ मेरो ठुल्दाई १६ सालमा जन्मनुभएको हो । यस हिसाबले आमाले १५ वर्षमा पहिलो भ्रुण ग्रहण गर्नुभयो । त्यसो भए आमाको घटीमा १४ वर्षमा विवाह भएछ । आमाबुबाको विवाह मितिबारे मेरो यो पहिलो अनुमान हो । त्यतिबेला बाल बिबाह गर्ने चलन थियो, शायद त्योभन्दा पहिला नै पो विवाह भएको थियो कि ? आमाले त यस प्रश्नको उत्तर दिनसक्नुहुन्न नै तर बुबासँग ढिला नगरी यो प्रश्न अवश्य सोध्नेछु । २०१६ सालमा पहिलो सन्तान जन्माएकी आमाले २०१८ सालमा दोस्रो पुत्रलाभ गर्नुभयो र त्यसको ठीक ३ वर्षपछि २०२१ सालमा तेस्रो पुत्र प्राप्त गर्नुभयो । लगातार तीन पुत्र जन्माएकी आमाले, मलाई मिति राम्रोसँग थाहा भएन, २०२१ र २०२६ सालका बीच एक छोरी र एक छोरा जन्माउनुभयो तर दूर्भाग्य ती दुवै ६, ७ वर्षका भएपछि महाप्रस्थानतिर लागे जसको दर्शन मैले गर्न पाइँन । २०२६ सालमा आमाले छैठौं सन्तानको रूपमा पाँचौं पुत्र जन्माउनुभयो । आमा अब २६ वर्षकी हुनुभयो । त्यसपछि २८ सालमा आमाले मलाई छैठौं पुत्र अर्थात् सातौं सन्तानको रूपमा जन्माउनुभयो । ३० सालमा माइली बहिनी हाल उसलाई हामी जेठी बहिनी मान्छौं, दोस्री छोरी आठौं सन्तानको रूपमा धर्तीमा पदार्पण गरी । २०३२ साल हुनुपर्छ आमाको जेठो पुत्रको अर्थात् मेरो ठुल्दाइको बिबाह भयो भने स्वयम् आमाले सातौं पुत्र, नवौं सन्तान लाभ गर्नुभयो । २०३४ सालमा जब आमा ३४ वर्षकी हुनुभयो, उहाँले आठौं पुत्र दशौं सन्तान पाउनुभयो । यो आठौं पुत्र २६ वर्षको हुँदा प्रहरी सेवामा थियो, उसको विवाह भयो, तर दुःखको कुरा विवाह भएको ठीक १ वर्षपछि मोटरसाइकल दूर्घटनामा उसको निधन भयो । अगाडि दुई सन्तान मृत्युको पीडा भुल्दै गएकी आमाले करीव ३४ वर्षपछाडि अकल्पनीय पुत्रशोकको अर्को पीडा सहनुपर्यो ।

अँ, म आमाका सन्तानहरू जन्मका आधारमा गन्दै थिएँ । ३४ सालपछि आमाले ४ वर्षपछाडि ३८ सालमा नवौं पुत्रलाई एघारौं सन्तानका रूपमा पैदा गर्नुभयो । त्यसपछि २०४२ सालमा आमाका जेठा छोराबुहारीले एक सन्तान पैदा गरी आमालाई नातिनी दिए भने त्यसको ठीक एक महिनापछि स्वयम् आमाले ४२ वर्षको उमेरमा बाह्रौ सन्तानका रूपमा तेस्री छोरीलाई जन्म दिनुभयो, यो सन्तान नै आमाले जन्माउनुभएको अन्तिम सन्तान हो । यसरी, २०१६ सालबाट पहिलो छोरा जन्माउन सुरू गरी २०४२ सालमा आमाले अन्तिम बाह्रौं सन्तान छोरी जन्माएर सन्तान जन्माउने काममा विश्राम लिनुभयो । यसरी २६ वर्षसम्म निरन्तर बच्चा जन्माउने मेरी आमाले १२ सन्तान जन्माउँदा के मात्र खप्नुभएन होला ? 

मैले माथि धेरैपटक भनें, आमासँग आजसम्म आधा घण्टासम्म कुरा गरिएनछ भनेर । शायद कारण यही होला, आमालाई कहाँ फुर्सद भयो होला र समय लिएर छोराछोरीसँग बोल्न र समय बिताउन । 

यसरी १६ वर्षदेखि ४२ वर्षसम्म १२, १२ वटा सन्तान जन्माएर थाङ्थिलो शरीर भएकी आमा हिजोआज ओछ्यानमा लगभग चेतहीन अवस्थामा जीवनको बोधबाट टाढा हुनुहुन्छ । उहाँ खानुहुन्छ, खाएको थाहा पाउनुहुन्न, सुत्नुहुन्छ सुतेको थाहा पाउनुहुन्न बडाबडाउनुहुन्छ, बडबडाएको थाहा पाउनुहुन्न । छोराछोरी, नातिनातिना छेउमा आउँछन्, उनीहरू छेउमा आएको थाहा पाउनुहुन्न । दिशा पिशाव गर्नुहुन्छ, दिशापिशाव गरेको थाहा पाउनुहुन्न । यस्तै छ हिजोआज मेरी आमाको हालखबर । आमाको यो हालमा म मातातीर्थ औंशी भनेर आमासँग अब त चाहेर पनि आधा घण्टा त के, एक मिनेट पनि कुरा गर्न सक्दिन । अफसोच ! यो वर्ष आमाको मुख हेर्ने दिन पनि गयो तर मैले आमासँग कुरा गर्दै गरिँन ।

सम्बन्धित समाचार

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result