काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने खालका कुनै कानुन नबनाउने आश्वासन दिएका छन् ।
उनले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भएको भेटका क्रममा यस्तो बताएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरे ।
भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा संकट आएको बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाउने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-