ह्युस्टन, टेक्सस, एप्रिल २१
गत मंगलबार, एप्रिल १७ का दिन दिवंगत भएकी पूर्व अमेरिकी प्रथम महिला बारबरा बुशप्रति आज ह्युस्टन स्थित सेन्ट मार्टिन चर्चमा एक विशेष प्रार्थना समारोहकाबीच उच्च सम्मान सहित श्रद्दान्जली प्रकट गरिएको छ। श्रीमती बुशलाई अन्त्येष्टि प्रकृयाका लागि कलेज स्टेशन स्थित टेक्सस ए एण्ड एम युनिभर्सिटीमा रहेको जर्ज बुश लाइब्रेरी रहेको स्थानमा लगिनु अघि भएको श्रद्धान्जली समारोहमा प्रथम महिला मेलानिया ट्रम्प सहित चारजना पूर्व राष्ट्रपतिहरु र पूर्व प्रथम महिलाहरु समेत सहभागी भएका थिए। उनको श्रीमान पूर्व राष्ट्रपति जर्ज एच डब्ल्यू बुश, छोरा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुश, पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा श्रीमती हिलरी क्लिन्टन, पूर्व राष्ट्रपति बाराक ओवामा एवं श्रीमती मिसेल ओवामा लगाएतका विशिष्ट व्यक्तित्वहरुले बारबरा बुशलाई अन्तिम श्रद्धान्जली तथा सम्मान प्रकट गरेका थिए।
समारोहमा श्रीमती बुशकी निकै नजिककी साथी सुसन वेकर तथा परिवारका तर्फबाट छोरा जेब बुशले शोक मन्तब्य राखेका थिए। जेब बुशले शोक मन्तव्य राख्दै आफ्नी आमा प्रति सम्मान प्रकट गर्न सहभागी भएका सबै विशिष्ट व्यक्ति तथा पारिवारिक मित्रहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। बारबरा बुश आफ्नी आमा मात्र नभएर उद्देश्यमूलक र अर्थपूर्ण जीवन जिउने कला सिकाउने एक असल शिक्षिका पनि भएको उनले स्मरण गरे।
श्रीमती बुशलाई तीन बर्षकै उमेरमा १९५३ मा ल्युकमियाबाट मृत्यु भएकी उनकी छोरी रोविनको अन्त्येष्टि गरिएकै नजिक दफन गरिएको छ।
तस्वीर: एपी, एविसी१३ ह्युस्टन, फक्स न्यूज ह्युस्टन
प्रतिक्रिया लेख्नुहोस्:-