दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकाको न्युयोर्कमा पछिल्लो समय कोरोनाको प्रभाव विस्तारै कम हुंदै गएको छ । न्युयोर्कको डिपार्टमेन्ट अफ हेल्थको तथ्यांक अनुसार एक सातामा संक्रमितको संख्यासंगै मृतकको संख्यामा पनि कमी आइरहेको छ । स्वास्थ्य विभागले मंगलबार अपडेट गरेको तथ्यांक अनुसार एक साताकै सबैभन्दा कम संक्रमित देखिएका छन । जम्मा १८ हजार ८ सय ९९ जनामा परिक्षण गरिएकोमा तीन हजार एक सय १० जनामा कोरोना पोजेटिभ देखिएको छ । अघिल्लो दिन अर्थात सोमबार २० हजार सात सय ४५ जनामा परिक्षण गरिएकोमा तीन हजार नौ सय ५१ जनामा संक्रमण देखिएको थियो । एक सातामा सबैभन्दा धेरै संक्रमित अप्रिल २४ तारिख शनिवार देखिएका थिए । सो दिन ४६ हजार नौ सय १२ जनामा परिक्षण गर्दा दश हजार पाँच सय ५३ जनामा संक्रमण देखिएको थियो ।
अत्यधिक प्रभावित न्युयोर्क सीटीमा पनि कमी आउंदै
न्युयोर्क राज्यको सबैभन्दा धेरै प्रभावित क्षेत्र न्युयोर्क सीटीमा पनि कोरोनाको प्रभावमा कमी देदिएको छ । स्वास्थ्य विभागको तथ्यांक अनुसार अहिलेसम्म न्युयोर्क सीटीमा तीन लाख ९४ हजार एक सय ६९ जनामा कोरोनाको परिक्षण गरिएको छ जसमा एक लाख ६२ हजार ३ सय ३८ जनाका संक्रमण देखिएको छ । न्युयोर्क सीटीको सबैभन्दा धेरै प्रभावित क्षेत्र क्वीन्समा ४९ हजार नौ सय २९ जना संक्रमित भएको बताइएको छ । त्यसै गरी किंग्स काउन्टी अन्तर्गतको बु्रकलिन क्षेत्रमा पनि कोरोनाको प्रभाव अत्यधिक देखिएको छ । ब्रुकलिनमा ४३ हजार ५ सय ७८ जना संक्रमित भएका छन । सीटीको अर्को प्रभावित क्षेत्र ब्रंक्समा ३५ हजार ९ सय ९४ जना संक्रमित बनेको स्वास्थ्य विभागले जनाएको छ । न्युयोर्क सीटीको अत्यधिक व्यस्त क्षेत्र म्यानहाटनमा २१ ह्जार ३ सय १२ जना संक्रमित बनेका छन । त्यसैगरी न्युयोर्क सीटी बाहेक अन्य स्थानमा ४ लाख ५० हजार ८ सय २५ जनामा संक्रमण देखिएको छ । तर पछिल्लो सातामा भने संक्रमितको संख्यामा विस्तारै कमी आइरहेको तथ्यांकले देखाउंछ ।
मृतकको संख्या किंग्स काउन्टी (ब्रुकलिन) मा धेरै
न्युयोर्क राज्यको सबैभन्दा धेरै प्रभावित क्षेत्र न्युयोर्क सीटीमा पनि किंग्स काउन्टीमा कोरोनाको असर धेरै देखिएको छ । किंग्स काउन्टीको बु्रकलिन क्षेत्रमा कोरोनाबाट धेरैले ज्यान गुमाइसकेका छन । स्वास्थ्य विभागको तथ्यांक अनुसार सो क्षेत्रमा ३५ सय ९८ जनाको ज्यान गइसकेको छ । त्यसैगरी अत्यधिक नेपालीको बसोबास रहेको क्वीन्स क्षेत्रमा पनि कोरोनाको कारण ज्यान गुमाउनेहरुको संख्या ३१ सय ५३ पुगेको छ । कोरोनाको प्रभाव बढन थालेदेखि शुरुवाती दिनमा क्वीन्स क्षेत्र विश्वमै इपीसेन्टर बनेको थियो । पछिल्ला दिनहरुमा संक्रमण र मृत्यु दरमा केही कमी आएपनि त्रास भने अझै उस्तै रहेको छ । न्युयोर्क सीटीको ब्रंक्समा २३ सय ६७ जनाको मृत्यु भएको छ भने म्यानहाटनमा २४ सय ०३ जनाको ज्यान गएको छ । नासाउ काउन्टीमा दुइ हजार ३९ जनाको मृत्यु भएको छ । न्युयोर्कमा सबैभन्दा पहिला संक्रमण देखिएको वेष्टचेस्टरमा एक हजार ९६ जनाको मृत्यु भएको छ ।
मृतकमा पुरुषहरु धेरै
न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ हेल्थले २८ तारिखमा जारी गरेको तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्युबरण गर्नेहरुमा पूरुषहरु धेरै छन । न्युयोर्क राज्यका मृतकहरुमा १० हजार ५ सय २२ अर्थात ५९ दशमलव ६ प्रतिशत पुरुषहरु रहेका छन । मृत्यु हुने महिलाको संख्या भने ७ हजार एक सय सात अर्थात ४ दशमलव तीन प्रतिशत रहेको छ । तर स्थानीय समाचारहरुमा भने संक्रमित र मृतकको संख्या धेरै देखाइएको छ ।
न्युयोर्कक विस्तारै सामान्यतर्फ उन्मुख
न्युयोर्क राज्यका गर्भनर एम कुमोले विस्तारै न्युयोर्कको अवस्था समान्य तर्फ जांदै गरेको बताएका छन । नियमित ब्रिफिङका क्रममा कुमोले अप्रिल १५ देखि पज गरिएका केही स्थानहरु खुल्ला गरिने संकेत गरेका छन । विभिन्न चरणमा न्युयोर्कका व्यापार व्यवयास लगायत गतिविधिहरु खुल्दै जाने बताएका हुन । कुमोले कन्स्ट्रक्सन लगायतका क्षेत्रहरु पहिलो चरणमा खुला गरिने बताएका छन । त्यसैगरी अत्यावस्यक काममा जानेहरुका लागि पनि एन्टीबडी टेष्टिङ गरीने तथा खोप चलाइने जानकारी दिएका छन । कुमोका अनुसार मे १५ सम्म यदि यहि गतिमा कोरोना भाइरसको संक्रमणमा कमी आएमा न्युयोर्कको जनजिवन धेरै हदसम्म सामान्य बन्न सक्ने आशा व्यक्त गरेका छन ।
कोरोनाको अर्को तरंग सेप्टेम्बरमा फेरी आउन सक्ने
गभर्नर कुमोले नियमित ब्रिफीङमा जनाए अनुसार आगामी फल सीजनमा कोरोनाको अर्को वेभ आउन सक्छ । सीडीसीको हवाला दिंदै कुमोले यदि आगामी सेप्टेम्बरमा कोरोनाको अर्को तरंग आएमा त्यसको क्षति अहिलेको भन्दा धेरै हुन सक्ने आशंका व्यक्त गरेका छन । कुमोका अनुसार आगामी जाडौ मौसममा नियमति फ्ल्युको पनि प्रभाव पर्ने अनि कोरोनाको संक्रमणपनि बढन सक्ने हुंदा अस्पतालको क्षमताले नपुग्न सक्ने चिन्ता व्यक्त गरेका हुन ।
प्रतिक्रिया लेख्नुहोस्:-