काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आधारहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति प्रकट गरेकी छिन् ।
कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको बताएकी हुन् ।
‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुस्प्रचार गरिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेकी छन्, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ । तर, कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छना लगाउने अधिकार छैन ।’
‘नियोजित रूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चार माध्याममा अन्तर्वार्ता दिँदै म विरुद्ध गाली बेइज्जतीमा उत्रिनु खेदजनक छ,’ उनले अगाडि भनेकी छन्, ‘तथ्यमा रहेर कसैको हस्तक्षेपविना विचार राख्ने र मिडियामार्फत सूचना र विचार दिन सकिन्छ। तर, नियोजित रूपमा म विरुद्ध व्यक्तिगत मानमर्दन गर्ने र हुँदै नभएका आधारहीन विवादहरूमा जोड्ने गरिएको प्रति सचेत भई त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’
प्रतिक्रिया लेख्नुहोस्:-