पोखरा, २२ वैशाख/ राष्ट्रियरुपमा नै मुक्तक विधामा राम्रो कलम चलाउने व्यक्तिलाई वार्षिक रुपमा पुरस्कृत गर्ने उद्देश्यका साथ प्रदान गरिने रुक्मिणा–नारायणदत्त अधिकारी मुक्तकमणि राष्ट्रिय पुरस्कारका लागि रु एक लाख ५१ हजार १११ को अक्षयकोष स्थापना गरिएको छ ।
गीताञ्जली साहित्य परिवार, पोखराद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मुक्तकमणि तीर्थराज अधिकारीले आफ्ना पिता माताको स्मृतिमा अक्षयकोष स्थापना गरी त्यसको ब्याज रकमबाट प्रत्येक वर्ष मुक्तक विधामा एकजना उत्कृष्ट प्रतिभालाई पुरस्कृत गर्नेगरी सो रकमको चेक गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठीले मुक्तकले चार हरफमा नै भन्न खोजिएको भावलाई स्रोता माझ अत्यन्त चोटिलो किसिमले प्रस्तुत गर्ने भएकाले कविताभन्दा पनि मुक्तकतर्फ आकर्षण बढेको बताउनुभयो । उहाँले साहित्यले जीवन जगतका अन्याय अत्याचारका विरुद्ध प्रहार गर्नुपर्ने बताउँदै समाज परिवर्तनका लागि साहित्य जागरुक बन्नु पर्नेमा जोड दिनुभयो ।
गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले साहित्यमा मुक्तक अत्यन्त चोटिलो र हृदयस्पर्शी विधाका रुपमा अघि बढेको उल्लेख गर्नुभयो । गीताञ्जली साहित्य परिवारले सञ्चालन गर्नेगरी रुक्मिणा–नारायणदत्त अधिकारी मुक्तकमणि राष्ट्रिय पुरस्कारका लागि प्राप्त अक्षयकोषको व्याजबाट वार्षिक रुपमा मुक्तक विधामा राम्रो कलम चलाउने एक जनालाई सम्मानित गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मानका लागि प्रतिभा छनौटका गर्न समिति गठन गरिनेछ । पोखरामा साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको गीताञ्जली साहित्य परिवारले प्रत्येक महिनाको पहिलो शनिबार साधना प्रभात सञ्चालन गर्दै आएकोमा हालसम्म १८५ औँ शृङ्खला सम्पन्न गरिसकेको छ ।
परिवारले प्रत्येक वर्ष साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने एकजनालाई गीताञ्जली साहित्यरत्न पुरस्कार र बाल साहित्यमा योगदान पु¥याउनेलाई तुल्सीमुहा अहिल्या पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।
शिक्षाविद् जर्ज जोन, टीकाराम कोइरालालगायतको विशेष उपस्थितिमा आज आयोजित कार्यक्रममा मुक्तकमणि तीर्थराज अधिकारीको एकल मुक्तक वाचनका साथै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, कृष्ण भण्डारी मुमुक्षु, शंकर ज्ञवालीलगायतले विभिन्न साहित्यिक रचना वाचन गर्नुभएको थियो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-