दूरबिन संवाददाता ।
अमेरिका ११ अप्रिल । अमेरिकाबाट एक हजार भन्दा बढि नेपालीहरू तत्कालै नेपाल फर्कन प्रयास गरिरहेका छन् । कतिपयले नेपालका ठुला दलका प्रभावशाली नेताहरु देखि अमेरिका स्थित नेपाली राजदूतावास र एनआरएनए अमेरिकालाई नेपाल फर्कने वातावरण बनाइ दिन आग्रह गरिरहेका छन् । तर उनीहरूको प्रयास र जोडबलले तत्काल सार्थकता पाउने सम्भावना अझै कम छ ।
शैक्षिक कार्यक्रममा सहभागि हुन अमेरिकामा आएका चिकित्सक, इन्जिनियर, सञ्चारकर्मी साथै आफन्तहरूलाई भेट्न आएकाहरू फर्कनै पर्ने अवस्थामा समेत फर्कन पाएका छैन । कोरोना भाइरसका कारण सबै भन्दा बढि प्रभावित अमेरिकाको नीति नियम र कानुनले भन्दा पनि नेपालको लकडाउनका कारण उनीहरू अमेरिकामा नै अड्कीएका हुन् । नेपालले अवतरण गर्ने अनुमति दिएमा जहाज चाटर गरेर नै भएपनि उनीहरू मध्ये केही फर्कने तयारीमा छन् ।
गत साता डाक्टर रिमा जोशी, शान्तराज बतास, अर्जुन पुडासैनी, विश्वनाथ आचार्य, बादल प्रधान, कुल बहादुर केसी लगायतले अमेरिका स्थित नेपाली दुतावासलाई फर्काउने वातावरण बनाई दिन आग्रह गरेका थिए । तर नेपाली समुदायसँगको छलफलमा राजदूत अर्जुन कार्कीले भने तत्काल फर्कन दिने वातावरण नभएको बताउँदै आएका छन् । कार्कीले गतसाता पत्रकारहरूसँगको कुराकानीमा भने “जहाज भित्र संक्रमित हुने सम्भावना झनै धेरै हुन्छ । फर्कन चाहनेहरुको स्वास्थ्य सुरक्षाका हिसाबले पनि फर्काउने काम जोखिम पुर्ण छ ।”
राजदूत कार्कीले कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएका कतिपय ब्यक्तिले अरुलाई सार्न सक्ने संभावना भएका कारण पनि तत्काल फर्काउनु उपयुक्त नभएको जिकिर गर्दै आएका छन् ।
नेपाल फर्कन चाहनेहरुका सम्बन्धमा एनआरएनए अमेरिकाले सङ्कलन गरेको तथ्याङ्कले ६ सय ३० जना भन्दा बढिले तत्काल फर्कन चाहेको देखाउँछ । सहजीकरणका लागि प्रयास गरिरहेको भए पनि उनीहरूलाई कसरी र कहिलेसम्म फर्काउन सकिन्छ भन्नेमा एनआरएनए अमेरिका प्रष्ट छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-