काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले कोरोनाका कारण सृजित अवसरलाई उपयोग गर्ने संकल्प, साहस र सृजनात्मकता सरकारले देखाउन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा आज पूर्व बजेट छलफलमा भाग लिदैँ उहाँले अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको प्रस्तावमा नयाँपन केही नभेटिएको बताउनुभयो ।
नवप्रबद्र्धनको मौका, डिजिटल गराउने असर तर्फ पनि सरकारको पट्क्कै ध्यान नभएको काँग्रेस नेता थापाको भनाई थियो । अर्थमन्त्री खतिवडाले करको दायर बढाउने पुरानै सिद्धान्तलाई आधार मानेको भन्दै उहाँले सार्वजनिक खर्च घटाउने यस्तो अवसर आउदा पनि अर्थमन्त्रीले साहस गर्न नसकेको टिप्पणी गर्नुभयो ।
विदेशबाट फर्किन लागेर र स्वदेशमै पनि बेरोजगार भएका लाखौ नेपालीका लागि अर्थमन्त्री खतिवडाले ठोस कुनै योजना ल्याउने छाटकाँट नदेखाएको भन्दै थापाले आक्रोस पोख्नुभयो । उहाँले भन्नुभयो, “लाखौ मानिस स्वदेश आउदैछन्, उनीहरुको बारेमा कुनै चिन्ता अर्थमन्त्रीमा देखिएन ।” कोरोनापछि कृषि र साना उद्योगहरुलाई प्राथमिकता दिनुपर्छ भनेको मात्रै सुनेको तर शिक्षा र स्वास्थ्यको राम्रो व्यवस्था नगर्दासम्म गाउँमा रहेकाहरुलाई गाउमै टिकाउन सकिन्न भन्ने तर्फ कसैको ध्यान नगएको उहाँले बताउनुभयो ।
हरेक गाउँ गाउँमा कस्तो अस्पताल बनाउनु पर्छ, कस्तो आवश्यकता छ भन्ने लगायतको सम्पूर्ण योजना सहितको अध्ययन प्रतिवेदन २०७४ सालदेखि स्वास्थ्य मन्त्रालयमा थन्किएको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । धेरै विद्धान र विज्ञहरुले धेरै मेहनेत गरेर बनाएको प्रतिवेदनलाई सरकारले एक पल्ट पनि पल्टाउने चेष्ट नगरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । नेपालका उद्योगहरुलाई निजिकरण गरिएको भन्दै विगतमा चर्को विरोध गर्ने सत्तारुढ दललाई अहिले सार्वजनिक उद्योगहरु खोल्न चुनौति पनि उहाँले दिनुभयो । उद्योगहरुलाई निजिकरण गरेर देशलाई बर्दाद पारियो भन्ने सत्तारुढ दललाई अहिले आफ्नो सरकार मार्फत उद्योग चलाउने आँट छ ? भनेर नेता थापाले प्रश्न गर्नुभयो ।
उहाँले निजिकरण गरेको कारणले नभई अन्य कारणले नेपालका उद्योग धन्दाहरु धारासायी भएको बताउदै यसलाई पुनर्उत्थान गर्ने तर्फ सरकारले यो अवसरलाई अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । छलफलका लागि पेश गरिएको प्रस्ताव निवन्ध जस्तो भएको टिप्पणी गर्दै उहाँले सांसदहरुलाई अर्थमन्त्री खतिवडाले हेपेको आरोप लगाउनुभयो । “नयाँ बजेट बनाउँदा अहिलेको अवस्थाका बारेमा केही न केही तथ्यांकहरु प्रस्तुत गर्नुपर्दछ र त्यसका आधारमा सैद्धान्तीक छलफल गर्नु पर्ने हो, तर उहाँले सांसदहरुलाई केही थाहा छैन भन्ने ठानेर निवन्धजस्तो लेख्नु भएको छ,” उहाँले भन्नुभयो । अर्थमन्त्रीको यो प्रस्तुतीले जति निराश बनाएको छ, उत्तिकै निराश उहाँले सार्वजनिक रुपमा दिने अभिव्यक्तिले पनि बनाउने गरेको नेता थापाको भनाई छ । समकालिन विद्धानहरु मध्ये सर्वाधिक विद्धवान र अनुभवी भनिएका अर्थमन्त्रीले पनि आशा जगाउन र नयाँ नयाँ योजनाहरु ल्याउन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-