काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताएका छन् । उनले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै संगठन बलियो भएका कारण कारण कांग्रेसले धेरै स्थानीय तह जितेको दावी गरे ।
उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावमा धाँधली भएको आरोप लगाएको भन्दै अहिलेसम्म कांग्रेसको नेतृत्वमा मात्रै धाँधलीरहित र शान्तिपूर्णरुपमा चुनाव हुँदै आएको दाबी गरे ।
प्रवक्ता महतले चुनावमा प्राप्त परिणामले नेपाली कांग्रेस र गठबन्धन दलहरूसमेत सन्तुष्ट रहेको बताए । ‘यो चुनावको परिणामले गठबन्धनको अगाडिको मार्गचित्र समेत प्रस्ट गरेको छ । यो परिणामबाट कांग्रेसको नेतृत्व सन्तुष्ट छ । गठबन्धनका शीर्ष नेताहरू समेत सन्तुष्ट हुनुहुन्छ भनेर मैले बुझेको छु,’ उनले भने ।
उनले पार्टीभित्र अन्तर्घात ठूलो समस्याको रुपमा देखिएको बताए । ‘हाम्रो पार्टीमा अन्तर्घातको समस्या पुरानै हो । त्यो अहिले पनि देखियो । त्यसकारण धेरै ठाउँमा हामीले पराजय बेहोर्नुपरेको छ,’ उनले भने, ‘यदि अन्तर्घात नभएको भए हामी झण्डै चार सय स्थानीय तहमा जित्ने अवस्था हुन्थ्यो । हामी पार्टीमा भएको अन्तर्घातबारे पार्टीमा छलफल गरेर अघि बढ्छौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-