अमेरिका । पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले विदेशमा रहेका नेपालीको दु: ख बुझ्न नसक्नु दुखद पक्ष भएको बताएका छन् । प्रवासमा रहेका नेपाली काँग्रेसका कार्यकर्ताहरु सँगको ‘जुभ भिडियो’ बैठकमा कार्कीले भने’ विदेशमा रहेका नेपालीको रेमिटेन्सले मुलुक चलेको छ, तर उनीहरुको समस्या सरकारले आत्मसाथ गर्न नसक्नु पिडाको कुरा हो ।’
झण्डै पाँच घण्टा सम्म कार्यकर्ताको कुरा सुनेका काँग्रेस केन्द्रीय सदस्य समेत रहेका कार्कीले स्वदेश फर्कन चाहाने नेपालीका लागि पार्टीले वातावरण बनाउने बाचा गरे ।’म विश्वास दिलाउन चाहान्छु, काँग्रेसले विदेशमा रहेका नेपालीलाई फर्कने वातावरण बनाउने छ ।’
नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीको संयोजनमा भएको ‘जुम’ बैठकमा सहभागिले सत्तारुढ नेकपाले नक्शालाई देखाएर अर्को पटक पनि भोटको राजनीति गर्न सक्ने भन्दै नेताहरुलाई सतर्क रहन सुझाव दिएका थिए । जुम बैठकमा नेपालबाट नेताका साथै विभिन्न देशमा रहेका काँग्रेस कार्यकर्ता तथा गैरआवासीय नेपाली संघका पदाधिकारी सहभागि थिए ।
बैठकमा सहभागिहरुले विदेशमा अलपत्र परेका नेपालीको उद्दारका लागि संसदमा आवाज उठाउन पनि आग्रह गरेका थिए । विषेश गरि मध्यपूर्व क्षेत्रमा बस्ने नेपालीहरुमा समस्या थपिदै गएको सहभागिले बताएका थिए । कुवेतमा आम माफि पाएकाहरु पुन जेल जानु पर्ने अवस्था आएको, गर्भवति महिला, कम्पनी बन्द भए पछि अलपत्र परेका श्रमिकहरुको तत्काल उद्दार गर्नु पर्ने उनीहरुको जोड् थियो । मध्यपूर्वका मनोज गोर्खाली, अम्वर जोशि, भवानी प्रसाद तिमिल्सिना, राजेन्द्र विरही, यसमिन वेगम सायद लगायतले धारणा राखेका थिए ।
‘नाकावन्दीका बेलामा भारत विरोधी देखिएर भोट ल्याएका हुन् यस पटक पनि नक्शाको राजनिति गरेर पुन भोट माग्न सक्छन त्यसतर्फ तपाइहरु सतर्क रहनु पर्दछ ।’ उनीहरुले पार्टी नेतृत्व प्रभावकारी नभएको र सबैलाई समेट्न नसकेको पनि आरोप लगाए ।
बैठकमा बोल्ने अधिकांस कार्यकर्ताले पार्टीले ससक्त प्रतिपक्षको भूमिका निभाउन नसकेको, संसदमा फितलो देखिएकोमा चिन्ता व्यक्त गरेका थिए । तर नेता कार्कीले बाहिर भनिए जति पार्टी कमजोर नभएको भन्दै कार्यकर्तालाई आश्वस्त पार्न खोजेका थिए । नेता कार्कीले सभापति शेरबहादुर देउवाले पार्टीलाई सहमतिमा चलाउन खोज्दा केही ढिलो भएको दावी गरे । यस्तै काँग्रेसको विरोधकै कारण सरकारले ल्याउन लागेको कतिपय विधेयकहरु फिर्ता गराउन सफल भएको दावी गरे ।
यस्तै पूर्वमन्त्री राजन केसीले काँग्रेस बोल्दैन कमजोर भयो, आवाज उठाएन भन्ने सुन्दा आफुलाई असहज लाग्ने गरेको अनुभव राखे । ‘संसदको वेवसाइडमा गएर हेर्न आग्रह गर्छु, हामीले कति बोलेका छौ, यहाँ एउटाले काँग्रेस कमजोर भयो भनिदिएको छ अर्कोले पनि हो, भन्ने भएको छ ।’
काँग्रेसमा एउटाले गरेको राम्रो कामलाई अर्को काँग्रेसले राम्रो भन्न नसक्दा समस्या भएको सांसद समेत रहेका केसीले गुनासो गरे ।’नेताले मात्र प्रचार गरेर हुदैन, कार्यकर्ताले पनि प्रचार गर्नु पर्यो, संसदमा काँग्रेसको भूमिका कमजोर भएको होइन, एउटा काँग्रेसले गरेको राम्रो काम अर्को काँग्रेसले राम्रो भन्न नसकेको हो ।’
नेता केसीले आफ्नै नेतृत्वमा वाइडवढी विमानको छानविन भएको तर त्यसको प्रचार नभएको गुनासो गरे । ‘हामीले रेलिङ्ग भाच्ने, मन्त्रीको ब्रिफकेस खोस्ने, संसदमा कुर्ची तोड्ने नगरेकै हो ।’ उनले नागरिकको सुरक्षामा सरकार चुकेको भन्दै अब स्वदेश फर्कनेलाई कृषिमा लागाउनु पर्ने धारणा राखे ।
काग्रेस नेतृ कमला पन्तले राज्य कति असंवेदनशिल र अमानविय छ भन्ने अहिले देखिएको बताइन । उनले अब काँग्रेसले सरकारमा जादा के के गर्ने भन्ने अहिले देखि नै योजना बनाउनु पर्नेमा जोड दिएन ।
काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डेले सरकारले नहेरे पनि भारतमा रहेका पाँच हजार नेपालीको आफुहरुद्वारा उद्दार गरिएको र अझै पनि आठ हजार सिजनल मजदुर सिमामा अलपत्र परिएको दावी गरे ।
यस्तै अर्का सांसद सन्जय गौतमले सरकार लकडाउन गरेर आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाए । ‘विदेशमा रहने नेपालीका बारेमा सरकारले योजना नै बनाएन, जिउदो पनि ल्याउन सकेन लास पनि ल्याउन सकेन ।’
उनले एक पछि अर्को गर्दै भ्रष्ट्राचार काण्डमा फसेको सरकारले महामारीको बेला औषधिमा पनि भ्रष्ट्राचार गर्न नछोडोको बताए । नेकपाले पार्टीको विवाद मिलाउन राष्ट्रवादको कुरा ल्याएको भन्दै गौतमले भने ‘नक्शा बनेर मात्र भूमि आउदैन, त्यो हामीले बुझ्नु पर्छ ।’
यस्तै अर्का नेता मधु आचार्यले पार्टीले मुद्दा उठाउन नसकेको आरोप लगाए । ‘नेतृत्वमा मोरल अथोरोटी कम भएर पनि यस्तो हुन्छ ।’ पार्टीले गठन गरेको छाँया सरकार आफै छाँयामा परेको नेता आचार्यको भनाइ थियो । उनले नेपालको नयाँ नक्शा घर घरमा बाढेर जमिन फिर्ता नआउने भन्दै जमिन लिन ठोस कदम चाल्नु पर्नेमा जोड दिए ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व महामन्त्री डाक्टर यादव पण्डित, नेविसंघका महामन्त्री बलदेश तिमिल्सिना, गैर आवासीय नेपाली संघ आइसीसीका सचिव गौरी जोशि, कोषाध्यक्ष महेश श्रेष्ठ, सदस्यहरु प्रमोद सिटौला, चिन्तामणी सापकोटा,सल्लाहाकार हरिबोल भण्डारी, लगायतले आ आफ्नो धारणा राखेका थिए ।
यो पनि हेर्नु होला
‘एनआरएनए नेकपाको भातृ संगठन जस्तो भयो,प्रवासी नेपालीका समस्यामा आवाज उठाउनै सकेन’
प्रतिक्रिया लेख्नुहोस्:-