काठमाडौं । आफ्नो आसन्न भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालापानीको विषय उठाउन पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुले सुझाव दिएका छन् ।
जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले आइतबार अपरान्ह आफ्नै सरकारी कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसँग सुझाव लिएका हुन्।
छलफलको क्रममा नेताहरुले भने राष्ट्रिय हितलाई सर्वोपरी ठानेर भारतसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए। प्रवुद्ध व्यक्ति समूह प्रतिवेदन ग्रहण गरेर अघि बढनुपर्ने विषयमा जोड दिन आफूले सुझाव दिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिए।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय हितमा दृढतापूर्वक उभिएर भारतसँग कुरा गर्न आफूले सुझाव दिएको बताए। उनले इपिजी प्रतिवेदन बुझने कुरामा पनि भारतसँग जोड दिएर छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको बताए।
कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर आत्मविश्वासका साथ भारतसँग आफ्ना कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिइएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको आत्मासम्मानमा चोट नपुर्याउने गरी भारतसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिइएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-