एक असाधारण क्षमता र मानवीय भावना देखाएर फ्रान्सको राजधानी शहर पेरिस स्थित बहुतले भवनको बाल्कोनीमा झुन्डिरहेको अवस्थामा रहेका एक बालकलाई उद्धार गरेका मालीका २२ बर्षीय आप्रवासी मामुदु गेसामा अब फ्रान्सको सम्मानित नागरिक हुने भएका छन्।
बालकका अभिभावक घरमा नभएको बेला पोकेमन खेल्दै गर्दा एक्कासी खुल्ला झ्यालबाट पाँचौं तल्लाको बाल्कोनीमा झुण्डिएका चारबर्षे बालकको ज्यान बचाएपछि गेसामाले संसारभरबाट व्यापक प्रशंसा पाएका छन्।
‘स्पाइडरम्यान’को शैलीमा चारतला माथि कुनै उपकरणको सहायता बिना नै एकपछि अर्को बाल्कोनी समात्दै-उक्लँदै गरेर गेसामाले ती बालकलाई समाएर उद्दार गरेको हेरिरहेका मान्छेहरुको भिडबाट खुसीले चिच्याएको भिडियो सार्वजनिक भएको थियो र त्यो केही क्षण मै भाइरल भयो। अहिले उनको नाम मामुदु गेसामा नभएर ‘गेसामा स्पाइडरम्यान’ भएको छ। मान्छेहरुले साँच्चिकै ’स्पाइडरम्यान’ देखेको बताउन थालेका छन्। संसारभर कै प्रमुख संचार माध्यमहरुले उनले बाल्कोनी चढ्दै गएर बालक उद्धार गरेको भिडियो-समाचारलाई प्रमुखताका साथ प्रशारण गरेका छन्। उनको त्यस्तो अद्भूत बहादुरीलाई कदर गर्दै फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले गेसामोलाई राष्ट्रपति भवनमा भेट गरेका छन् र उनलाई फ्रान्सको अङ्गीकृत नागरिकताले सम्मान गरिने बताएका छन्। साथै गेसामाले देखाएको असाधरण साहसका लागि राष्ट्रपति माक्रोँले प्रसंशा-पत्र र पदकले सम्मान गरेका छन्। उनले फ्रान्सेली अग्निनियन्त्रण सेवामा अग्निनियन्त्रकको पदमा काम गर्ने अवसर समेत पाउने भएका छन्।
डुङ्गामा भूमध्यसागर पारगर्ने निकै खतारायुक्त यात्रा गरेर यूरोप छिरेका गेसामा इटली हुँदै गत वर्ष फ्रान्स पुगेका थिए। एक कागजात बिहिन आप्रवासीले ऐन-मौकामा देखाएको असाधरण क्षमताका कारण अब सम्मानित फ्रान्सेली नागरिक हुने भएकाछन्। आफू हिँडिरहेको सडकपारीको भवनको चारतला माथि बच्चा झुन्डिइरहेको देखेपछि गेसामाले तत्काल सडक पार गरेर सो भवन चढेर बालकलाई बचाएको संचार माध्महरुलाई बताएका छन्। गेसामाले ती बालकलाई उद्धार गरिसकेपछि मात्र त्यहाँ अग्निनियन्त्रण गर्ने उद्धारकर्मीहरू पुगेका थिए।
घटना हुँदा घरमा नभएका बालकका बाबुले आफ्नो बच्चालाई एक्लै छोडेको आरोपमा कानूनी कार्बाही बेहोर्नु पर्ने संभावना रहेको स्थानीय संचार माध्यमहरुले जनाएकाछन्। घटनाका बखत पेरिस बाहिर रहेको कारण बालककी आमालाई भने प्रहरीले कुनै कार्बाही बढाउने संभावना छैन।
तस्वीर: REUTERS/ एलजजिरा
प्रतिक्रिया लेख्नुहोस्:-